नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधान गर्न पहल घटनाक्रमले पार्टीभित्र शक्ति संघर्ष र राजनीतिक ध्रुवीकरण एकता हाेला त?

Spread the love

गगन थापा ले नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधान गर्न नयाँ पहल थालेका छन्। विशेष महाधिवेशनपछि चर्किएको विवादलाई साम्य पार्ने प्रयासस्वरूप उनले देउवा समूह र शेखर समूहसमक्ष दुई सूत्रीय सहमति प्रस्ताव राखेका हुन्।

गत पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि कांग्रेसभित्र विवाद सुरु भएको थियो। तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा को अगुवाइमा सम्पन्न उक्त महाधिवेशनलाई लिएर विवाद निर्वाचन आयोग हुँदै सर्वोच्च अदालतसम्म पुगेको थियो। सर्वोच्च अदालतले गगन नेतृत्वको कार्यसमितिलाई मान्यता दिए पनि पार्टीभित्रको असन्तुष्टि भने अझै कायम छ।

यसैबीच सभापति थापाले विशेष महाधिवेशनप्रति असन्तुष्ट रहेका पूर्णबहादुर खड्का नेतृत्वको देउवा समूह र डा. शेखर कोइराला समूहसँग सहमतिका लागि छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।

थापाले वैशाख ६ गते पूर्णबहादुर खड्कासँग एक्लै भेटवार्ता गरेका थिए भने वैशाख २३ गते उपसभापति विश्वप्रकाश शर्मासहित खड्का निवास पुगेका थिए। त्यसैगरी वैशाख २२ गते उनले विशालनगरस्थित सचिवालयमै पुगेर डा. शेखर कोइरालासँग छलफल गरेका थिए।

स्रोतका अनुसार गगन थापाले दुई प्रमुख प्रस्ताव अघि सारेका छन्। पहिलो प्रस्तावअनुसार विशेष महाधिवेशनबाट बनेको केन्द्रीय समितिमा देउवा समूहबाट २० जना र शेखर समूहबाट १० जना मनोनीत गर्ने योजना छ।

त्यस्तै दोस्रो प्रस्तावमा निर्वाचन समिति र क्रियाशील सदस्यता व्यवस्थापन समितिमा दुवै समूहबाट १–१ जना सदस्य थप गर्ने कुरा समेटिएको छ। हाल ३ सदस्यीय रहेका ती समितिलाई ५ सदस्यीय बनाएर सहमतिका आधारमा निर्णय गर्ने कार्यादेश दिने प्रस्ताव थापाले गरेका छन्।

तर देउवा र शेखर समूहले भने उक्त प्रस्तावलाई अस्वीकार गरेका छन्। उनीहरूले १४औँ महाधिवेशनबाट निर्वाचित सबै सदस्यलाई सम्मानजनक रूपमा समेटिनुपर्ने अडान राखेका छन्।

देउवा समूहका नेताहरूका अनुसार पूर्णबहादुर खड्काले १५औँ महाधिवेशन सम्पन्न गर्ने संरचनामा १४औँ महाधिवेशनबाट निर्वाचित सबैलाई सहभागी गराएर अघि बढ्नुपर्ने प्रस्ताव राखेका थिए। तर त्यसबारे थप छलफल गर्ने भन्दै गगन थापा फर्किएको र त्यसपछि कुनै निष्कर्ष ननिस्किएको जनाइएको छ।

विशेष महाधिवेशनबाट १३ पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय समिति गठन गरिएको थियो। त्यसमा थप ३० जना समावेश गरेर १६४ सदस्यीय समिति बनाउने योजना गगन थापाको रहेको बताइएको छ।कांग्रेसभित्रको आन्तरिक विवाद समाधानका लागि प्रयास भइरहे पनि सहमति अझै टाढा देखिएको छ। पछिल्लो घटनाक्रमले पार्टीभित्र शक्ति संघर्ष र राजनीतिक ध्रुवीकरण अझै कायम रहेको संकेत गरेको छ।