वन तथा वातावरणमन्त्री गीता चौधरीलाई कोषको अध्यक्षको जिम्मेवारी
सबिना प्रजा
राष्ट्रिय प्रकृति संरक्षण कोषको नेतृत्वसम्बन्धी विवादित नियुक्ति बदर गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले वन तथा वातावरणमन्त्री गीता चौधरीलाई कोषको अध्यक्षको जिम्मेवारी दिएका छन्।यसअघि तत्कालीन अन्तरिम सरकार प्रमुख सुशीला कार्कीले प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई कोषको अध्यक्षमा नियुक्त गरेकी थिइन्। उक्त निर्णयलाई लिएर व्यापक आलोचना भएपछि अहिले त्यो नियुक्ति बदर गरिएको हो।
प्रधानमन्त्री शाहले राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ अनुसार संरक्षकको अधिकार प्रयोग गर्दै नयाँ निर्णय गरेका हुन्। ऐनअनुसार प्रधानमन्त्री कोषको संरक्षक रहने र सोही हैसियतमा अध्यक्ष नियुक्त गर्ने व्यवस्था छ।
प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार विगतमा विवादास्पद रूपमा गरिएको नियुक्ति र दोहोरो जिम्मेवारीसम्बन्धी अभ्यासलाई अन्त्य गर्दै संस्थागत मर्यादा कायम गर्न यो निर्णय गरिएको हो।श्रेष्ठको नियुक्ति तथा समाजकल्याण परिषद्मा समेत उनको भूमिकालाई लिएर उठेका प्रश्नपछि सरकारमाथि आलोचना बढेको थियो।त्यसपछि अब परम्परागत अभ्यासअनुसार वन तथा वातावरण मन्त्रालय सम्हालिरहेकी मन्त्री गीता चौधरीलाई नै कोषको नेतृत्व दिइएको छ।
