हवाई आक्रमण झन् तीव्र बन्दै पछिल्लो २४ घण्टामै दुई स्वास्थ्यकर्मीसहित ५१ जनाको मृत्यु
लेबनानमा इजरायली हवाई आक्रमण झन् तीव्र बन्दै गएको छ । पछिल्लो २४ घण्टामै दुई स्वास्थ्यकर्मीसहित कम्तीमा ५१ जनाको ज्यान गएको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार इजरायली सेनाले अन्तर्राष्ट्रिय मानवीय कानुन उल्लङ्घन गर्दै बिन्त जुबेल जिल्लाको कलाविया र तिबनिनस्थित स्वास्थ्य केन्द्रहरूलाई नै निशाना बनाएर हवाई हमला गरेको हो । आक्रमणमा प्यारामेडिक टोलीसमेत प्रभावित भएको बताइएको छ ।
अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम तेस्रो हप्तामा पुगे पनि लेबनानमा हिंसा रोकिएको छैन । मार्च २ यता सुरु भएको नयाँ सैन्य अभियानपछि मात्रै २ हजार ८ सय ४६ जनाले ज्यान गुमाइसकेका छन् ।
संयुक्त राष्ट्रसंघका अनुसार हालसम्म भएका १३० भन्दा बढी आक्रमणमा कम्तीमा १०३ स्वास्थ्यकर्मी मारिएका छन् भने २३० जना घाइते भएका छन् ।
दक्षिण लेबनानको टायरमा रहेका नागरिक रक्षाका प्रमुख अली सफिउद्दीनले “हरेक दिन मृत्युको छायाँमा काम गर्नुपरेको” पीडा सुनाएका छन् । उनका अनुसार साथीहरू लगातार गुमिरहेकाले आफूहरू पनि “जीवित लास” जस्तै बनेको महसुस हुन थालेको छ ।यता, इजरायली आक्रमणकै कारण मार्च २ यता १२ लाखभन्दा बढी लेबनानी विस्थापित भएका छन् । युद्धविराम घोषणा भए पनि जमिनमा भने बम र त्रास अझै रोकिएको छैन ।
