कानुन दिवसको अभिव्यक्तिप्रति कडा आपत्ति र खुला चुनौती- सभापति रवि लामिछाने
रास्वपा सभापति रवि लामिछानेले कामु प्रधानन्यायाधीश सपना प्रधानको कानुन दिवसको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै खुला चुनौती दिएका छन्। शनिबार पार्टीका सांसदहरूलाई आयोजित प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले प्रधानन्यायाधीश सिफारिस प्रक्रियाबारे उठिरहेको विवादको प्रतिवाद गरेका हुन्।
रवि लामिछानेले प्रधानन्यायाधीश सिफारिस “परम्पराभन्दा बाहिर गएको” र “असंवैधानिक भएको” भन्ने आलोचनाको जवाफ दिँदै संवैधानिक परिषद्को भूमिकामाथि प्रश्न उठाए। उनले भने, “यदि वरिष्ठतम् व्यक्तिलाई स्वतः प्रधानन्यायाधीश बनाउने व्यवस्था नै हुने हो भने संवैधानिक परिषद्को आवश्यकता किन पर्थ्यो ? ६/६ जनाको सिफारिस किन गरियो ?” उनले परम्परा तोडिएको भन्ने आरोपलाई अस्वीकार गर्दै यदि पुरानै शैली कायम रहेको भए अहिले पनि न्यायपालिकामा भागबन्डाको राजनीति चलिरहेको हुने दाबी गरे।
उनले सिफारिस प्रक्रियामा आफ्नो पार्टीका वरिष्ठ नेताले नाम प्रस्ताव गरेको उल्लेख गर्दै त्यसलाई राजनीतिक पूर्वाग्रहका आधारमा विवादित बनाउन खोजिएको आरोप लगाए। रविले न्यायपालिकाभित्र हुने शक्ति संघर्ष र भागबन्डाको अभ्यासमाथि कटाक्ष गर्दै “परम्परा” को नाममा पुरानो संस्कार जोगाउन खोजिएको टिप्पणी गरे।
सम्बोधनका क्रममा रवि लामिछाने निकै आक्रामक रूपमा प्रस्तुत भए। उनले आफूमाथि रिस पोख्नेहरूलाई सीधा चुनौती दिँदै भने, “मेरो रिस गर्नुहुन्छ भने मेरो गर्धन त्यहीँ छ, चलाइदिनुस् हतियार।” उनको यो अभिव्यक्ति सार्वजनिक भएसँगै राजनीतिक वृत्त र सामाजिक सञ्जालमा व्यापक चर्चा सुरु भएको छ।
रविले अदालतलाई पनि अप्रत्यक्ष रूपमा सचेत गराउँदै न्यायपालिकाले जनताको विश्वास जोगाउनुपर्ने बताए। “अदालतले पनि यसलाई हाँसोको विषय नबनाओस्। आम नागरिकलाई कसरी न्याय दिन सकिन्छ भन्नेमा केन्द्रित हुनुपर्छ,” उनले भने। उनले कागजमा सीमित न्याय नभई व्यवहारमा नागरिकले अनुभूति गर्ने न्याय आवश्यक रहेको धारणा व्यक्त गरे।
उनको अभिव्यक्ति यस्तो समयमा आएको हो, जतिबेला न्यायपालिका, संवैधानिक परिषद् र प्रधानन्यायाधीश नियुक्ति प्रक्रियालाई लिएर राजनीतिक तथा कानुनी बहस तीव्र बनेको छ। कानुन दिवसको अवसरमा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले दिएको अभिव्यक्तिपछि सुरु भएको बहसमा अब रवि लामिछानेको कडा प्रतिक्रिया थपिएपछि विवाद अझ चर्किने संकेत देखिएको छ।
