संवैधानिक परिषद्ले गरेको प्रधानन्यायाधीश सिफारिसप्रति तीव्र असन्तुष्टि -पूर्वप्रधानमन्त्री सुशीला कार्की
पूर्वप्रधानन्यायाधीश तथा पूर्वप्रधानमन्त्री सुशीला कार्कीले संवैधानिक परिषद्ले गरेको प्रधानन्यायाधीश सिफारिसप्रति तीव्र असन्तुष्टि जनाउँदै सरकारमाथि गम्भीर प्रश्न उठाएकी छन्। वरिष्ठता मिच्दै चौथो वरीयताका डा. मनोजकुमार शर्मालाई सिफारिस गर्नु “विधि र परम्परा विपरीत” भएको दाबी गर्दै वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल सक्षम हुँदाहुँदै किन बेवास्ता गरियो भन्ने प्रश्न उठाइन्।
कार्कीका अनुसार न्यायपालिकामा योग्यता र पदोन्नतिको स्पष्ट परम्परा हुँदाहुँदै राजनीतिक निर्णयका आधारमा गरिएको यस्तो सिफारिसले राज्यका संस्थागत मर्यादामै असर पार्ने खतरा छ। उनले भनिन्, “यति सक्षम महिला हुँदाहुँदै किन रोकियो? यसको परिणाम सरकारले पछि भोग्नुपर्छ।”
उनले न्यायपालिकालाई प्रहरी प्रशासनजस्तै क्रमिक पदोन्नतिको प्रणाली भएको उल्लेख गर्दै, “योग्यता मिचेर गरिएको निर्णय दीर्घकालीन रूपमा गलत साबित हुन्छ” भन्ने टिप्पणीसमेत गरिन्।
साथै, उनले सपना प्रधान मल्लको योगदान कानुन निर्माणदेखि महिला अधिकारसम्म महत्वपूर्ण रहेको उल्लेख गर्दै उनलाई बेवास्ता गर्नु उचित नभएको बताइन्।
