संसद्को अपमान गर्दै अध्यादेशमार्फत संवैधानिक निकाय कब्जा गर्न खोजे-गगन थापा

Spread the love

गगन थापा ले सरकारले आफूअनुकूल व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन संवैधानिक परिषद्को व्यवस्थामा जालझेल गरेको आरोप लगाएका छन्। बुधबार नेपाली कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकार न्यायपालिकामाथि राजनीतिक प्रभाव जमाउने प्रयासमा लागेको बताएका हुन्। संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र परिषद् बैठक बोलाउने शैलीमाथि प्रश्न उठाउँदै सरकार ‘खल्तीको मान्छे’ प्रधानन्यायाधीश बनाउन लागिपरेको दाबी गरे। उनले सरकारले प्रधानन्यायाधीश नियुक्तिको विषयमा पहिले नै आफ्नो योजना तयार गरिसकेको आरोपसमेत लगाए।

उनले भने, “भोलि साँझ ५ बजे परिषद्को बैठक बोलाइएको छ। प्रधानमन्त्री, सभामुख र कानुनमन्त्री मिलेर कसलाई प्रधानन्यायाधीश बनाउने भन्नेबारे पहिले नै खाका तयार गरिएको छ।”

थापाका अनुसार सरकारले योग्य र निष्पक्ष व्यक्तिको सट्टा आफ्ना निकट व्यक्तिलाई नियुक्त गर्न संवैधानिक परिषद्को कानुनको दुरुपयोग गरिरहेको छ। उनले वर्तमान सरकार पनि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ले अपनाएको शैलीमै अघि बढिरहेको टिप्पणी गरे।

“प्रधानन्यायाधीशजस्तो गरिमामय पदमा सरकारले खल्तीबाट नाम झिकेर नियुक्ति गर्न खोज्नु अत्यन्त आपत्तिजनक कुरा हो। यसले न्यायपालिकाको स्वतन्त्रतामाथि नै प्रहार गर्छ,” थापाले भने।

उनले सरकारमाथि संसद्को अपमान गर्दै अध्यादेशमार्फत संवैधानिक निकाय कब्जा गर्न खोजेको आरोप पनि लगाए। यस्तो कदमविरुद्ध कांग्रेस संसद्मा सशक्त रूपमा उभिने चेतावनी दिँदै उनले न्यायालयलाई राजनीतिक अखडा बन्न नदिने बताए।

थापाले संसद्मा आफ्ना सांसदहरूले यो विषयमा कडा प्रश्न उठाउने पनि स्पष्ट पारे। प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया र संवैधानिक परिषद्को भूमिकालाई लिएर सत्ता र विपक्षबीच राजनीतिक तनाव बढ्ने संकेत देखिएको छ।