Wednesday, May 6, 2026

उम्मेदवार छनोटमा कडा नियम राष्ट्रिय परिचयपत्र डिजिटल सेवा गुनासो व्यवस्थापन साइबर सुरक्षाको ज्ञान समेत उम्मेदवारमा हुनुपर्ने

Spread the love

आगामी स्थानीय निर्वाचन लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार छनोटका लागि कडा र प्रविधिमैत्री मापदण्ड लागू गरेको छ।

पार्टीले सार्वजनिक गरेको ‘उम्मेदवार छनोट रूपरेखा, २०८३’ अनुसार सम्भावित उम्मेदवारले कुनै पनि प्रकारको डिजिटल अपराध, साइबर बुलिङ, अनलाइन ठगी वा सामाजिक दुर्व्यवहारमा संलग्न नरहेको स्वघोषणा अनिवार्य गर्नुपर्नेछ।

रास्वपाले घरेलु हिंसा, यौनजन्य दुर्व्यवहार तथा सार्वजनिक आचरणसँग सम्बन्धित विषयमा समेत उम्मेदवारले आफू निर्दोष रहेको स्पष्ट पार्नुपर्ने व्यवस्था गरेको छ।

यससँगै पार्टीले ‘प्रविधिमैत्री प्रशासन’ लाई मुख्य योग्यता बनाउँदै ईमेल, वर्ड, एक्सेल लगायत आधारभूत डिजिटल सीप अनिवार्य गरेको छ।

नागरिक एप, राष्ट्रिय परिचयपत्र प्रणाली, डिजिटल सेवा प्रवाह, गुनासो व्यवस्थापन र साइबर सुरक्षाको आधारभूत ज्ञान समेत उम्मेदवारमा हुनुपर्ने उल्लेख गरिएको छ।

रास्वपाले आन्तरिक निर्वाचन (प्राइमरी) मा अनलाइन मतदान, टु–फ्याक्टर अथेन्टिकेसन र ब्लकचेन प्रविधि प्रयोग गर्ने नीति पनि अघि सारेको छ।