भुमिहिन सुकुम्बासीले जेठ ७ गतेदेखि देशव्यापी आम हड्ताल गर्ने घोषणा

Spread the love

सुकुम्बासी बस्तीमा डोजर चलाउने कार्य रोक्न माग गर्दै आन्दोलन थप सशक्त बनाइने भएको छ। अखिल नेपाल सुकुम्बासी संघ ले बिहीबार पत्रकार सम्मेलन गर्दै चार चरणको आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो।

पहिलो चरणअन्तर्गत बैशाख २० गतेसम्म विभिन्न संघ–संगठनलाई जबरजस्ती उठिबासविरुद्ध धारणा सार्वजनिक गर्न लगाउने, सांसद तथा स्थानीय जनप्रतिनिधिलाई एसएमएसमार्फत चुनावी बाचा सम्झाउँदै डोजर रोक्न दबाब दिने कार्यक्रम तय गरिएको छ।

दोस्रो चरणमा बैशाख २० देखि ३१ गतेसम्म पीडितहरूको समिति गठन गर्ने, विभिन्न दलका सुकुम्बासी तथा जनवर्गीय संगठनबीच समन्वय गर्ने, साथै जिल्ला प्रशासन, मालपोत र नापी कार्यालयमा ज्ञापनपत्र बुझाउने योजना रहेको छ।

तेस्रो चरणमा बैशाख ३१ गते राष्ट्रिय स्वतन्त्र पार्टी लाई प्रधानमन्त्रीबाट बालेन्द्र शाह लाई हटाउन अनुरोध गर्ने तथा मेची–काली राजमार्गमा चक्काजाम गर्ने कार्यक्रम राखिएको छ।

चौथो चरणअन्तर्गत जेठ १ गतेदेखि ७ गतेसम्म रास्वपा सांसदहरूलाई फिर्ता बोलाउन आह्वान गरिने र जेठ ७ गतेदेखि देशव्यापी आम हड्ताल गर्ने घोषणा गरिएको छ। आन्दोलनका यी कार्यक्रमहरूले आगामी दिनमा देशको जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने संकेत देखिएको छ।