थापाथली मनोहरा र सिनामंगल क्षेत्रका सुकुम्बासी बस्तीबाट बासिन्दाहरूले सामान सार्न सुरु
बागमती नदी किनारका अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने सरकारी अभियान तीव्र बनेको छ। वैशाख १० गते जारी सूचनापछि थापाथली, मनोहरा र सिनामंगल क्षेत्रका सुकुम्बासी बस्तीबाट बासिन्दाहरूले सामान सार्न सुरु गरेका छन्।
सरकारले वैशाख १२ गते बिहानदेखि बल प्रयोग गरेरसमेत बस्ती खाली गराउने चेतावनी दिँदै तयारी अगाडि बढाएको छ। त्यसअघि नै महानगर प्रहरीले माइकिङमार्फत समयसीमा तोकेर घरटहरा खाली गर्न आग्रह गरेको थियो।सूचनामा अपांगता भएका, बालबालिका, गर्भवती, वृद्धवृद्धा लगायतलाई प्राथमिकता दिँदै सुरक्षित स्थानमा सार्न निर्देशन दिइएको छ भने वास्तविक भूमिहीनहरूको प्रमाणीकरण प्रक्रिया तत्काल सुरु गर्ने जनाइएको छ।सरकारले वास्तविक सुकुम्बासीलाई उचित व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ। यसैबीच, अभियानविरुद्ध केही समूहले विरोध जनाएका छन् भने सर्वोच्च अदालतमा रिटसमेत दायर भएको छ।
यस अभियानसँगै ‘सुकुम्बासी’को नाममा बसोबास गरिरहेका व्यक्तिहरूमध्ये धेरैको अन्यत्र पनि जग्गा रहेको तथ्यहरू बाहिर आएका छन्। सरकारी अध्ययनअनुसार कतिपय व्यक्तिहरूले सार्वजनिक जग्गा अतिक्रमण गर्दै बसोबास गरिरहेको पाइएको छ।उदाहरणका रूपमा सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परियार को परिवारको नाममा काठमाडौंमै तीन तले घर रहेको विवरण सार्वजनिक भएको छ।
भूमि समस्या समाधान आयोगको तथ्यांकअनुसार देशभर ११ लाखभन्दा बढी भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी रहेका छन्, जसमा अव्यवस्थित बसोबासीको संख्या सबैभन्दा धेरै छ।सरकारले सुकुम्बासी समस्या समाधानका लागि प्रमाणीकरणपछि पुनर्वासको व्यवस्था गर्ने जनाएको छ। विगतमा बनेका पुनर्वास संरचनाहरू प्रयोगमा नआएको अवस्थामा यसपटक कार्यान्वयनमुखी योजना अघि बढाइएको सरकारी दाबी छ।
