घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग
पाल्पाको बग्नासकाली गाउँपालिका–२ की २९ वर्षीया गीता पाण्डेको उपचारका क्रममा मृत्यु भएको घटनामा संलग्न दुई चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।प्रहरीका अनुसार बुटवलस्थित ‘खत्री नर्सिङ होम’का सञ्चालक डा. डीबी खत्री र ‘इन्दु लेखा स्वास्थ्य क्लिनिक’का चिकित्सक डा. सतिष रुपाखेतीलाई नियन्त्रणमा लिइएको हो। घटनाबारे बुझ्न बोलाएपछि उनीहरू आफैं इलाका प्रहरी कार्यालय बुटवलमा उपस्थित भएका थिए, जहाँबाट उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालयका डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिए।
यस घटनामा मृतकका पति प्रकाश पाण्डेले डा. खत्री र रुपाखेतीसहित पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका छन्। सोही आधारमा जोनल फार्मेसी तथा क्लिनिकका सञ्चालक सन्ध्या बस्नेत र निलम घर्ती तथा इन्दुलेखा स्वास्थ्य क्लिनिकका सञ्चालक खगेन्द्रप्रसाद पाण्डेलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ। जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिएर उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।मृतकका परिवारजनले भने उपचारसम्बन्धी कागजात लुकाइएको आरोप लगाउँदै प्रमाण नष्ट हुन सक्ने आशंका व्यक्त गरेका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्। घटनापछि आक्रोशित आफन्तहरूले क्लिनिक घेराउ गरी तालाबन्दी समेत गरेका थिए।
परिवारका अनुसार करिब १२ हप्ताको गर्भमा समस्या देखिएपछि वैशाख ५ गते गीतालाई उपचारका लागि बुटवल लगिएको थियो। सुरुमा खत्री नर्सिङ होममा लगिएको र त्यहाँ औषधिमार्फत गर्भपतन गराउने प्रयास असफल भएपछि उनलाई जोनल फार्मेसी र इन्दुलेखा क्लिनिकमा सारिएको थियो।त्यहाँ पनि उपचारपछि अवस्था झनै गम्भीर बनेपछि उनलाई लुम्बिनी सिटी अस्पताल पुर्याइएको थियो, जहाँ चिकित्सकहरूले मृत घोषणा गरेका थिए।घटनाले निजी स्वास्थ्य संस्थाहरूको सेवा गुणस्तर, निगरानी र चिकित्सा नैतिकतामाथि गम्भीर प्रश्न उठाएको छ भने प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।
