सम्भव सिरोहिया ले कान्तिपुर को प्रबन्ध निर्देशक पदबाट राजीनामा
सुधन गुरुङ प्रकरणले हल्लायो कान्तिपुर, सिरोहियाले छाडे कान्तिपुर नेतृत्व सम्भव सिरोहिया ले कान्तिपुर मिडिया ग्रुप (केएमजी) को प्रबन्ध निर्देशक पदबाट राजीनामा दिएका छन्। उनले बिहीबारदेखि लागू हुने गरी पद त्यागेको जानकारी संस्थाका कर्मचारीहरूलाई पठाएको सन्देशमार्फत दिएका हुन्।
राजीनामाको मुख्य कारणका रूपमा उनले पछिल्लो समय कान्तिपुरले गरिरहेको रिपोर्टिङप्रति असहमति जनाएका छन्। विशेष गरी गृहमन्त्री सुधन गुरुङ सम्बन्धी प्रकाशित समाचारलाई लिएर उनले गम्भीर आपत्ति जनाउँदै ती सामग्री सनसनीपूर्ण ढंगले प्रस्तुत गरिएको बताएका छन्। “मैले विश्वास नगरेको पत्रकारितासँग आफ्नो नाम जोडेर नेतृत्व गर्न सक्दिनँ,” उनले आफ्नो सन्देशमा उल्लेख गरेका छन्।कान्तिपुरले अनुसन्धानकारी निकायबाट प्राप्त सूचनाका आधारमा गृहमन्त्री गुरुङसँग सम्बन्धित शंकास्पद कारोबारबारे समाचार सार्वजनिक गर्दै आएको थियो। तर सिरोहियाले नयाँ सरकारले काम गर्न सुरु गरिसकेको अवस्थामा प्रमाणित नभइसकेका आरोपहरूलाई प्रमुखता दिँदा सरकारलाई अनावश्यक रूपमा कमजोर बनाउने प्रयास भएको दाबी गरेका छन्।
यसअघि पनि उनले सामाजिक सञ्जालमार्फत गृहमन्त्रीसम्बन्धी समाचारप्रति असन्तुष्टि व्यक्त गर्दै “यो मिसन पत्रकारिता जस्तो देखिन्छ, तर कसको मिसन हो थाहा छैन” टिप्पणी गरेका थिए।सिरोहियाले आफ्नो कार्यकालको उपलब्धि उल्लेख गर्दै आफू नेतृत्वमा आउँदा संस्थाको वार्षिक घाटा ६० करोडभन्दा बढी रहेको र पछिल्लो सुधारपछि कम्पनी नाफाउन्मुख बनेको दाबी गरेका छन्। उनले संस्थालाई यहाँसम्म ल्याउन योगदान दिने सबैप्रति आभार व्यक्त गरेका छन्।सिरोहिया २०८० असोज १ गतेदेखि केएमजीको प्रबन्ध निर्देशकका रूपमा कार्यरत थिए। उनको राजीनामासँगै मिडिया हाउसभित्रको सम्पादकीय दिशा र व्यवस्थापनबीचको सम्बन्धबारे नयाँ बहस सुरु भएको छ।
