तास बुक सहित नगद ४४ हजार १६५ रुपैयाँ र भारतीय २ हजार ५०० रुपैयाँ बरामद

Spread the love

विराटनगर महानगरपालिका–९ सोमबारेस्थित एक खाली घरमा गोप्य रूपमा सञ्चालन हुँदै आएको तास खेल्ने अड्डामा प्रहरीले छापा मारेर ६ जनालाई पक्राउ गरेको छ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार बुधबार राति करिब ८ बजेतिर तास खेल्दै गरेका ६ जनालाई नियन्त्रणमा लिइएको हो। उनले उक्त घरलाई व्यवस्थित रूपमा जुवा खेल्ने स्थल बनाइएको पाइएको बताए।

‘एसी जडान गरेर आरामदायी वातावरण तयार पारिएको रहेछ,’ कटवालले भने, ‘त्यहाँ दैनिकजस्तै तास खेल्ने गरिएको पाइयो।’

प्रहरीले घटनास्थलबाट तीन बुक तास, नगद ४४ हजार १६५ रुपैयाँ र भारतीय २ हजार ५०० रुपैयाँ बरामद गरेको छ।

पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।