राष्ट्रिय स्वतन्त्र पार्टी ले कम्तीमा १० लाख नयाँ सदस्य बनाउने महत्वाकांक्षी याेजना

Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विदेशमा रहेका नेपालीहरूलाई लक्षित गर्दै बृहत् प्रवास अभियानको घोषणा गरेको छ। प्रवासी नेपालीलाई केवल रेमिट्यान्सको स्रोतका रूपमा होइन, देश निर्माणका सह-निर्माताका रूपमा स्थापित गर्ने लक्ष्यसहित पार्टीले ८ बुँदे कार्ययोजना सार्वजनिक गरेको हो।रास्वपाका प्रवास नेपाली सम्पर्क विभाग प्रमुख तथा सांसद दीपक बोहराले जारी गरेको विज्ञप्तिअनुसार ‘समर्थक भएर संसद बदल्यौँ, सदस्य भएर देश बदल्छौँ’ भन्ने नाराका साथ विदेशबाट कम्तीमा १० लाख नयाँ सदस्य बनाउने महत्वाकांक्षी लक्ष्य राखिएको छ। यस अभियानमार्फत विश्वभर रहेका नेपालीहरूलाई संगठित गर्दै पार्टीको पहुँच विस्तार गर्ने योजना रहेको छ।

प्रवासी नेपालीको सीप, ज्ञान र पुँजीलाई संस्थागत गर्न रास्वपाले ‘प्रोफाइल बैंक’ स्थापना गर्ने जनाएको छ। यसमार्फत विदेशमा रहेका दक्ष जनशक्ति, लगानीकर्ता तथा उद्यमशील युवाहरूको विवरण संकलन गरी उनीहरूलाई नेपालसँग जोड्ने प्रयास गरिनेछ। साथै, ‘आइडिया बैंक’ सञ्चालन गरेर नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गर्ने योजना पनि अघि सारिएको छ।नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन ‘जहाँ नेपाली, त्यहीँ नेपाली उत्पादन’ अभियान सञ्चालन गरिनेछ। कृषि, जडीबुटी, हस्तकला तथा डिजिटल सेवाजस्ता क्षेत्रलाई प्राथमिकतामा राख्दै निर्यात प्रवर्द्धन गरिने पार्टीले जनाएको छ।

प्रवासमा रहेका नेपाली श्रमिक तथा विद्यार्थीका समस्यालाई तत्काल सम्बोधन गर्न २४ सै घण्टा सञ्चालन हुने ‘इमर्जेन्सी हेल्पडेस्क’ स्थापना गरिनेछ। यसले कानुनी सहयोगदेखि दूतावाससँगको समन्वयसम्मका सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

नीतिगत रूपमा रास्वपाले गैरआवासीय नेपालीहरूको ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने भावनालाई सम्मान गर्दै दोहोरो नागरिकताको पक्षमा उभिने संकेत दिएको छ। साथै, विदेशमा रहेका नेपालीलाई मतदान अधिकार सुनिश्चित गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता पनि जनाएको छ।यस अभियानअन्तर्गत अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि सुधार्न सेमिनार, नीतिगत बहस तथा ‘थिङ्क ट्याङ्क’हरूसँग सहकार्य गरिनेछ। साथै, विश्वभरका प्रवासी संगठनहरूको सहभागितामा पार्टीको केन्द्रीय कार्यालय निर्माण गर्ने योजना पनि अघि सारिएको छ।रास्वपाको यो अभियानले प्रवासी नेपालीलाई राजनीतिक रूपमा सक्रिय बनाउने मात्र होइन, उनीहरूको सीप, पुँजी र अनुभवलाई नेपालको विकाससँग जोड्ने प्रयासका रूपमा हेरिएको छ। अब यो महत्वाकांक्षी योजना व्यवहारमा कति सफल हुन्छ भन्ने विषयले राजनीतिक तथा सामाजिक वृत्तमा चासो बढाएको छ।