सुदन गुरुङ ले गृहमन्त्री नियुक्त हुनु दुई दिनअघि मात्रै धनकुटामा ठूलो परिमाणको जग्गा खरिद
गृहमन्त्री पदबाट राजीनामा दिएका सुदन गुरुङ ले गृहमन्त्री नियुक्त हुनु दुई दिनअघि मात्रै धनकुटामा ठूलो परिमाणको जग्गा खरिद गरेको तथ्य सार्वजनिक भएको छ। यसले उनको सम्पत्ति सम्बन्धी विवादलाई अझ तीव्र बनाएको छ।
धनकुटा मालपोत कार्यालयका अनुसार साँघुरीगढी गाउँपालिका–६ स्थित कार्कीछाप क्षेत्रमा १९ रोपनी १५ आना जग्गा चैत ११ गते वारेसमार्फत गुरुङको नाममा पास गरिएको हो। उक्त जग्गा सरकारी मूल्यांकनअनुसार प्रतिरोपनी १७ हजार रुपैयाँमा किनबेच भएको उल्लेख गरिएको छ, जसअनुसार कुल मूल्य करिब ६ लाख ९० हजार रुपैयाँ देखाइएको छ।तर स्थानीय स्रोतहरूका अनुसार सो क्षेत्रको वास्तविक बजार मूल्य यसभन्दा धेरै उच्च रहेको बताइन्छ। स्थानीय जनप्रतिनिधि र व्यवसायीहरूले उक्त क्षेत्रमा प्रतिरोपनी ३ लाखदेखि ६–७ लाख रुपैयाँसम्म पर्ने बताएका छन्। यस आधारमा उक्त जग्गाको वास्तविक मूल्य ६० लाखदेखि एक करोड रुपैयाँभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ।
उक्त जग्गा भेडेटारजस्तो लोकप्रिय पर्यटन क्षेत्र नजिकै पर्ने भएकाले यसको व्यावसायिक सम्भावना उच्च रहेको स्थानीयहरूले बताएका छन्। पछिल्लो समय सो क्षेत्रमा होटल तथा रिसोर्ट खुल्ने क्रम बढेकाले जग्गाको मूल्य पनि तीव्र रूपमा बढिरहेको छ।यसअघि पनि गुरुङले जेनजी आन्दोलनपछि करिब ५० दिनको अवधिमा विभिन्न कम्पनीको करिब ५३ लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको विषय सार्वजनिक भइसकेको थियो। जग्गा खरिद र सेयर लगानी दुवै विषय जोडिएपछि उनको सम्पत्ति स्रोतबारे थप प्रश्न उठ्न थालेका छन्।
गुरुङले सार्वजनिक गरेको सम्पत्ति विवरण र त्यसको स्रोतबारे आलोचना भइरहेको बेला विवादित व्यवसायी दीपक भट्टसँगको सम्बन्ध र साझेदारीका विषय पनि बाहिरिएपछि उनीमाथि दबाब बढेको थियो। अन्ततः उनले बुधबार गृहमन्त्री पदबाट राजीनामा दिएका हुन्।यस घटनाले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति पारदर्शिता, नैतिकता र उत्तरदायित्वबारे पुनः गम्भीर बहस सुरु गराएको छ।
