सरकारले अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा पनि साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय
स्वास्थ्य क्षेत्रका १४ वटा संयुक्त पेसागत संगठनको दबाबपछि सरकारले अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा पनि साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। अब देशभरका सरकारी अस्पतालहरूमा शनिबार र आइतबार नियमित ओपिडी सेवा बन्द रहनेछ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आकस्मिक तथा अन्तरंग (इनडोर) सेवा भने २४ सै घण्टा सञ्चालनमा रहनेछ।स्वास्थ्य मन्त्री निशा मेहता, स्वास्थ्य सचिव डा. विकास देवकोटा तथा विभिन्न पेसागत संगठनका प्रतिनिधिबीच भएको छलफलपछि सरकार यस विषयमा सहमत भएको हो।
दुई दिन ओपिडी सेवा बन्द हुने भएपछि आकस्मिक सेवाको क्षमता थप विस्तार गर्ने तयारी गरिएको मन्त्रालय स्रोतले जनाएको छ।स्वास्थ्यकर्मीहरूले लामो समयदेखि बढ्दो कार्यबोझ र मानसिक तनावलाई कारण देखाउँदै दुई दिन बिदाको माग गर्दै आएका थिए।
