नेपाली कांग्रेसले सुशासन, पारदर्शिता, उत्तरदायित्व, अभिव्यक्ति स्वतन्त्रता र बलियो संसदीय संस्कारलाई प्रतिपक्षी दलको भूमिकामा प्रस्तुत गर्ला त ?

Spread the love

नेपाली कांग्रेसले संसदमा प्रमुख प्रतिपक्षी दलको भूमिका कसरी प्रभावकारी रूपमा निर्वाह गर्ने भन्ने विषयमा आन्तरिक छलफल गरेको छ। सभापति गगनकुमार थापाको नेतृत्वमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिपक्षी भूमिका र सरकारसँगको सम्बन्धबारे स्पष्ट रणनीति तय गरेको हो। कांग्रेसले लोकतन्त्रका मूल मूल्यहरूमा कुनै सम्झौता नगरी संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय गरेको जनाएको छ। पार्टीले संविधानमा उल्लेखित लोकतन्त्र, गणतन्त्र, संघीयता, नागरिक सर्वोच्चता, बहुलवाद, शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिका, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता र विधिको शासनप्रति प्रतिबद्धता दोहोर्याएको छ।

कांग्रेसले सुशासन, पारदर्शिता, उत्तरदायित्व, अभिव्यक्ति स्वतन्त्रता र बलियो संसदीय संस्कारलाई प्राथमिकतामा राख्दै सरकारका कामकारबाहीमाथि निगरानी गर्ने बताएको छ। साथै, आवश्यक परेका विषयमा सरकारसँग सहकार्य गर्ने तर लोकतान्त्रिक मूल्य र नागरिक अधिकार कमजोर पार्ने कुनै पनि कदममा समर्थन नगर्ने स्पष्ट पारेको छ।

पार्टीले सरकारलाई नागरिक स्वतन्त्रता खुम्च्याउने वा विधिको शासनविपरीत जाने गतिविधि नगर्न चेतावनी दिँदै यस्ता विषयमा निरन्तर खबरदारी गर्ने जनाएको छ। कांग्रेसले प्रतिपक्षी भूमिकामार्फत लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने र जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।