चीनले आगामी केही हप्ताभित्र इरानलाई नयाँ हवाई सुरक्षा प्रणाली उपलब्ध गराउने तयारी गरिरहेको संकेत
गुप्तचर मूल्यांकनअनुसार इरानले युद्धविरामलाई आफ्नो सैन्य क्षमता पुनः मजबुत बनाउने अवसरका रूपमा प्रयोग गरिरहेको देखिन्छ। चीनले ती हतियारहरू तेस्रो मुलुकमार्फत पठाउने तयारी गरिरहेको संकेत पनि भेटिएको छ, जसले वास्तविक स्रोत लुकाउने उद्देश्य राखेको हुनसक्छ।चीनले पठाउने भनिएको प्रणाली ‘म्यानप्याड्स’ (MANPADS) नामक काँधबाट प्रहार गर्न सकिने हवाई प्रतिरक्षा मिसाइल प्रणाली हो। यस्ता हतियारहरूले न्यून उचाइमा उड्ने अमेरिकी सैन्य विमानहरूलाई जोखिममा पार्न सक्ने बताइएको छ। पाँच हप्तासम्म चलेको युद्धमा पनि यस्ता प्रणालीले असमान प्रकारको खतरा उत्पन्न गरेको थियो।यस विषयमा सोधिएको प्रश्नमा ट्रम्पले चीनले इरानलाई हतियार पठाए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। उनले चीनसँग यस विषयमा कुरा भएको छ कि छैन भन्ने स्पष्ट भने गरेका छैनन्।
तर वासिङ्टनस्थित चिनियाँ दूतावासले भने उक्त आरोप अस्वीकार गरेको छ। “चीनले कुनै पनि पक्षलाई हतियार उपलब्ध गराएको छैन, यो जानकारी गलत हो,” दूतावासका प्रवक्ताले बताएका छन्। साथै अमेरिकालाई आधारहीन आरोप नलगाउन र तनाव कम गर्न सहयोग गर्न आग्रह गरिएको छ।विश्लेषकहरूका अनुसार यदि चीनले प्रत्यक्ष रूपमा इरानलाई हतियार उपलब्ध गराउँछ भने यो समर्थनको नयाँ स्तर हुनेछ। अहिलेसम्म चिनियाँ कम्पनीहरूले इरानलाई द्वैध प्रयोग (dual-use) प्रविधि बेच्दै आएका छन्, जसले हतियार निर्माण र नेभिगेसन प्रणाली सुधारमा मद्दत पुर्याउने गरेको छ।
अमेरिका र इजरायलले फेब्रुअरीमा इरानविरुद्ध संयुक्त सैन्य अभियान सुरु गरेपछि क्षेत्रीय तनाव चुलिएको छ। त्यसयता रूसले पनि इरानलाई गुप्तचर सूचना सहयोग गर्दै आएको बताइएको छ। उता इरानले युक्रेन युद्धमा रूसलाई ड्रोन उपलब्ध गराउँदै आएको छ भने चीनलाई आफ्नो तेलको ठूलो हिस्सा बेच्दै आएको छ।विशेषज्ञहरूका अनुसार चीनले प्रत्यक्ष युद्धमा प्रवेश गर्न चाहँदैन, तर इरानसँगको सम्बन्ध कायम राख्दै बाहिरबाट तटस्थ देखिने रणनीति अपनाइरहेको छ। यस्तो नीति मार्फत चीनले एकातर्फ आफ्नो ऊर्जा आवश्यकता सुरक्षित गर्न खोजिरहेको छ भने अर्कोतर्फ अन्तर्राष्ट्रिय दबाबबाट जोगिन प्रयास गरिरहेको बुझिएको छ।
