विद्यार्थी संगठन खारेज गर्ने सरकारी तयारीविरुद्ध देशव्यापी आन्दोलन घोषणा

Spread the love

विद्यार्थी संगठन खारेज गर्ने सरकारी तयारीविरुद्ध विभिन्न विद्यार्थी संगठनले देशव्यापी आन्दोलन घोषणा गरेका छन्। संयुक्त विद्यार्थी संगठनले शुक्रबार पत्रकार सम्मेलन गर्दै चैत २७ गतेदेखि चरणबद्ध आन्दोलन सुरु गर्ने जानकारी दिएका हुन्।सरकारले सय बुँदे सूचीमार्फत विद्यार्थी संगठन खारेज गर्ने तयारी गरेको भन्दै विद्यार्थीहरू आन्दोलित बनेका छन्। विरोधस्वरूप चैत २७ गते पत्रकार सम्मेलन, चैत २९ गते नागरिक अगुवासँग अन्तरक्रिया तथा चैत ३० गतेदेखि वैशाख ४ गतेसम्म देशभरका कलेजहरूमा छलफल र अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

यसैगरी वैशाख ५ गते पूर्व विद्यार्थी नेता तथा सांसदहरूसँग अन्तरक्रिया, वैशाख ७ देखि ९ गतेसम्म कलेजहरूमा प्रचारप्रसार कार्यक्रम सञ्चालन गरिनेछ। उक्त अवधिमा ब्यानर राख्ने, पर्चा वितरण गर्ने, वक्तृत्वकला, वादविवाद, सांस्कृतिक कार्यक्रम, सडक नाटक र फ्ल्यास मोब जस्ता गतिविधि आयोजना गरिनेछन्। प्रत्येक कलेजमा हस्ताक्षर संकलन अभियान पनि सञ्चालन गरिनेछ।विद्यार्थी संगठनका अनुसार वैशाख ११ गते विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापनपत्र बुझाइनेछ भने वैशाख १२ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिने कार्यक्रम तय गरिएको छ। वैशाख १५ गते काठमाडौंको बालुवाटारसहित देशभर कापी–कलमसहित प्रदर्शन गर्ने तयारी गरिएको छ।

आन्दोलनसँगै संयुक्त विद्यार्थी संगठनले सरकारसमक्ष सात बुँदे माग प्रस्तुत गरेका छन्। मागहरूमा विश्वविद्यालयका लागि छुट्टै सर्भर तथा डाटा केन्द्र स्थापना, साइबर सुरक्षा नीति निर्माण, प्रविधिको प्रभावकारी प्रयोग तथा अनुगमन, त्रिभुवन विश्वविद्यालयको उच्चस्तरीय आयोगको प्रतिवेदन कार्यान्वयन लगायतका विषय समावेश छन्।त्यस्तै, कालापानी, लिपुलेक र लिम्पियाधुराबारे सरकारको स्पष्ट धारणा माग गरिएको छ। पश्चिम एसियामा जारी द्वन्द्वका कारण बढेको पेट्रोलियम मूल्य नियन्त्रण गरी जनतालाई राहत दिन पनि सरकारसँग आग्रह गरिएको छ।यसक्रममा केही विद्यार्थी नेताहरूले PM बालेन्द्र शाह (बालेन) प्रति कडा असन्तुष्टि व्यक्त गर्दै प्रतीकात्मक विरोध गर्ने चेतावनी दिएका छन्, जसले आन्दोलनलाई थप चर्काउने संकेत दिएको छ।