जेन–जी आन्दोलनका क्रममा घाइते भएकी एकता शाहलाई निशुल्क एमबीबीएस अध्ययनको अवसर
काठमाडौँ— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेन–जी आन्दोलनका क्रममा घाइते भएकी एकता शाहलाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर दिने निर्णय कानुनअनुसार रहेको स्पष्ट पारेको छ।मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को चैत १ गतेको निर्णय ऐन–नियम विपरीत नभएको उल्लेख गरेको हो। साथै, उक्त निर्णयले अन्य विद्यार्थीले पाउने अवसरमा कुनै अवरोध नपर्ने पनि प्रष्ट पारिएको छ।मन्त्रालयका अनुसार शाहले शैक्षिक वर्ष २०८२/८३ का लागि चिकित्सा शिक्षा आयोगद्वारा लिइएको एमबीबीएस प्रवेश परीक्षामा ७६.६ प्रतिशत अंक हासिल गरी उत्तीर्ण भएकी हुन्। उनको समग्र शैक्षिक उपलब्धि ६८६.६५ प्रतिशत रहेको उल्लेख गरिएको छ।
सरकारले उनलाई नियमित छात्रवृत्ति कोटाबाहेक ‘विशेष छात्रवृत्ति’ अन्तर्गत अध्ययनको व्यवस्था गरेको जनाएको छ। यसका लागि आवश्यक बजेट पनि सरकारले नै व्यहोर्ने निर्णय गरिएको छ।मन्त्रालयले यो निर्णय राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ तथा आन्दोलनका क्रममा घाइते तथा अपाङ्ग भएका नागरिकलाई राहत उपलब्ध गराउने कार्यविधि, २०८२ अनुसार गरिएको स्पष्ट पारेको छ।मन्त्रालयका प्रवक्ता सहसचिव शिवकुमार सापकोटाले जारी गरेको विज्ञप्तिमा यस विषयमा भ्रम नराख्न सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ।
