विद्यार्थी संगठनहरू खारेज गर्ने विषय समावेश भएपछि देशभरका १५ वटा विद्यार्थी संगठन एकै ठाउँमा
विद्यार्थी नेताहरूले विद्यार्थी संगठनहरू नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक परिवर्तनका महत्वपूर्ण हिस्सेदार रहेको दाबी गर्दै तिनलाई खारेज गर्ने प्रयास अस्वीकार्य हुने बताएका छन्। अनेरास्ववियु समाजवादीका उपाध्यक्ष ललित विकले कानुनी रूपमा दर्ता नभएका संगठनलाई खारेज गर्ने नाममा विद्यार्थी आन्दोलनकै अस्तित्वमाथि प्रश्न उठाइएको टिप्पणी गरे। उनका अनुसार विद्यार्थी संगठनहरू सडक, राजनीतिक तथा शैक्षिक आन्दोलनमार्फत देशको परिवर्तनमा निरन्तर सहभागी रहँदै आएका छन्।नेपालमा विद्यार्थी आन्दोलनको इतिहास लामो रहेको भन्दै नेताहरूले गंगालाल श्रेष्ठको १९९७ सालको पर्चा आन्दोलनदेखि २००४ सालको जयतु संस्कृतम् आन्दोलनसम्मका घटनालाई स्मरण गरेका छन्। २००७ सालको प्रजातान्त्रिक आन्दोलन, २०१७ सालपछिको पञ्चायती कालखण्ड र २०३६ सालको जनमतसंग्रह आन्दोलनमा विद्यार्थी संगठनको भूमिका निर्णायक रहेको उनीहरूको भनाइ छ।
अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष विराज थापाले विद्यार्थी संगठनहरू ऐतिहासिक रूपमा राजनीतिक परिवर्तनका स्टेकहोल्डर भएको दाबी गर्दै तिनलाई हटाउने निर्णय स्वीकार्य नहुने चेतावनी दिए। उनले सरकारको कदमविरुद्ध कडा आन्दोलन हुन सक्ने संकेत गर्दै विद्यार्थी शक्तिलाई कमजोर ठान्ने भूल नगर्न आग्रह गरे।नेपाल विद्यार्थी संघका अध्यक्ष दोजाङ शेर्पाले पनि सरकारको निर्णयलाई सस्तो राजनीतिक स्टन्टको संज्ञा दिएका छन्। उनका अनुसार विद्यार्थी संगठन खारेज गर्ने प्रयास विगतका कुनै पनि शासनले सफल बनाउन नसकेको र वर्तमान सरकारले पनि नसक्ने दाबी गरे। उनले आवश्यकता परे आन्दोलन चर्काउने चेतावनीसमेत दिए।अनेरास्ववियु अध्यक्ष दीपक धामीले विद्यार्थी संगठनमाथिको प्रस्तावलाई अधिनायकवादी सोच भन्दै आलोचना गरेका छन्। उनले सरकारका प्राथमिकतामाथि प्रश्न उठाउँदै विद्यार्थीको अभिव्यक्ति स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउन खोजिएको आरोप लगाए। साथै, सरकार आफ्नो निर्णय सच्याउन तयार नभए आन्दोलनको स्वरूप कडा हुने चेतावनी दिएका छन्।
विद्यार्थी संगठनहरूको एकीकृत विरोधपछि देशको राजनीतिक वातावरण थप तातिएको छ। उनीहरूले सरकारलाई निर्णय फिर्ता लिन दबाब दिँदै माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।
यी हुन् सङ्घर्षका कार्यक्रमहरू:
चैत २७ गते: पत्रकार सम्मेलन गर्ने
चैत २९ गते: नागरिक अगुवासँग अन्तरक्रिया गर्ने
चैत ३० गतेदेखि २०८३ वैशाख ४ गतेसम्म: ७७ जिल्लाका कलेजहरूमा स्ववियु एकाइ तथा जिल्लास्तरीय छलफल र अन्तरक्रिया गर्ने
वैशाख ५ गते: पूर्व विद्यार्थी नेता तथा सांसदहरूसँग अन्तरक्रिया गर्ने
वैशाख ७ गतेदेखि ९ गतेसम्म: प्रचारप्रसार, कलेजमा ब्यानर, पर्चा वितरण, वक्तृत्वकला, वादविवाद, गीत, गजल, दोहोरी, पप ब्याटल, नृत्य, सडक नाटक, फ्ल्यास मोब तथा भित्ते चित्र प्रदर्शन गर्ने, साथै प्रत्येक कलेजमा हस्ताक्षर संकलन गर्ने
वैशाख ११ गते: हरेक विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापनपत्र बुझाउने
वैशाख १२ गते: प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने
वैशाख १५ गते: काठमाडौं उपत्यकासहित देशभर कापी–कलमसहित प्रदर्शन गर्ने
