दुई वर्षीय बालकलाई चोरेर भाग्न खोजेको आरोपमा एक भारतीय महिला स्थानीयको नियन्त्रणमा
स्थानीयका अनुसार आइतबार राति करिब २ बजे विनोद पासीका नाति दुई वर्षीय आनन्द पासीलाई खाटबाट उठाएर लैजान खोजेको अवस्थामा ती महिलालाई नियन्त्रणमा लिइएको हो। स्थानीयले उनलाई रातभर पोलमा बाँधेर राखी प्रहरीलाई खबर गरेका थिए।कपिलवस्तुको यशोधरा गाउँपालिका–८ मधुनगरा गाउँमा दुई वर्षीय बालकलाई चोरेर भाग्न खोजेको आरोपमा एक भारतीय महिला स्थानीयको नियन्त्रणमा परेकी छन्।
स्थानीयका अनुसार महिलाले आफू भारतको झारखण्डको भएको बताएकी छन्। उनको साथबाट ब्लेड र डोरीसमेत फेला परेको दाबी गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी रिपेन्द्रकुमार सिंहले स्थानीयबाट सूचना आएपछि महिलालाई नियन्त्रणमा लिएर प्रहरी कार्यालय ल्याइँदै गरेको र अनुसन्धानपछि घटनाको वास्तविकता स्पष्ट हुने बताएका छन्।
घटनामा बालकलाई कुनै क्षति भए/नभएको तथा महिलाको उद्देश्य के थियो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
