समाचार

युवा प्रविधि सामाजिक सुरक्षा संघीयता सुशासन जलवायु र राष्ट्रिय स्वाधीनतालाई गगन थापाले अगाडि बढाउन सक्ला त?

Spread the love

अमर कैनि

काठमाडौं, असोज १८ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन तयार गरेका छन्। आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, सांगठनिक तथा आर्थिक कार्यदिशा समेटिएको प्रतिवेदनमा २९ वटा प्रमुख प्रस्ताव अघि सारिएका छन्।

प्रतिवेदनमा कांग्रेसको विगतको समीक्षा गर्दै पार्टी पुनर्संरचना, सरकारलाई प्रभावकारी खबरदारी, निर्वाचन प्रणाली सुधार, आर्थिक नीति, युवा सहभागिता, सुशासन र सामाजिक न्यायका विषयलाई प्राथमिकता दिइएको छ।

निर्वाचनपूर्व गठबन्धन नगर्ने प्रस्ताव

थापाले आगामी निर्वाचनमा निर्वाचनपूर्व कुनै पनि दलसँग गठबन्धन नगर्ने प्रस्ताव गरेका छन्। कांग्रेस आफ्नै चुनाव चिह्न, आफ्नै उम्मेदवार र आफ्नै एजेन्डासहित जनतामाझ जाने उल्लेख छ। उम्मेदवार छनोटमा गुट, पहुँच र संरक्षणभन्दा योग्यता, योगदान तथा कार्यसम्पादनलाई प्राथमिकता दिने प्रस्ताव गरिएको छ।

उम्मेदवार छनोटका लागि प्राइमरी निर्वाचन, सार्वजनिक मतसर्वेक्षण तथा पार्टी सदस्यको प्रत्यक्ष मतदानजस्ता विकल्प अघि सारिएका छन्।

पार्टीको विगतप्रति आत्मसमीक्षा

प्रतिवेदनमा कांग्रेसले पछिल्ला दुई दशकमा पार्टीको मूल उद्देश्यभन्दा पद र सत्तालाई प्राथमिकता दिएको आत्मसमीक्षा गरिएको छ। गठबन्धन, भागबन्डा, गुटबन्दी र लेनदेनको राजनीतिले पार्टीको नैतिक धरातल कमजोर बनाएको उल्लेख छ।

सुशासन र नागरिक निगरानीमा जोड

सरकारका विकास आयोजना, बजेट खर्च र जिम्मेवार पदाधिकारीको विवरण नागरिकले प्रत्यक्ष हेर्न सक्ने डिजिटल नागरिक ड्यासबोर्ड निर्माणको प्रस्तावसमेत गरिएको छ। यसमार्फत सरकारी कामको अनुगमन र नागरिक निगरानीलाई संस्थागत गर्ने लक्ष्य राखिएको छ।

अर्थतन्त्र र निजी क्षेत्र

निजी क्षेत्रलाई उत्पादन, रोजगारी, लगानी र नवप्रवर्तनको प्रमुख साझेदारका रूपमा अघि बढाउने प्रस्ताव गरिएको छ। लगानीको सुरक्षा, नीतिगत स्थिरता र व्यवसाय गर्ने वातावरण सुधारमा जोड दिइएको छ। जलविद्युत् तथा स्वच्छ ऊर्जालाई औद्योगिकीकरण र हरित निर्यातसँग जोड्ने प्रस्ताव पनि प्रतिवेदनमा छ।

युवा सहभागिता

युवाको असन्तुष्टि र मागबारे अध्ययन गर्न स्वतन्त्र युवा विज्ञसहित विशेष कार्यदल गठन गर्ने प्रस्ताव छ। कार्यदलका सुझावलाई पार्टीको नीति निर्माणमा कार्यान्वयन गर्ने तथा डिजिटल माध्यमबाट पार्टीको निर्णय प्रक्रियामा युवाको सहभागिता बढाउने प्रस्ताव गरिएको छ।

प्रधानमन्त्रीको कार्यकाल दुई पटकमा सीमित गर्ने प्रस्ताव

थापाको प्रतिवेदनमा प्रधानमन्त्रीलाई अधिकतम दुई कार्यकाल मात्र प्रधानमन्त्री बन्न पाउने संवैधानिक व्यवस्था गर्नुपर्ने प्रस्तावसमेत गरिएको छ।

‘समुन्नत नेपाल, सम्मानित नेपाली’

प्रतिवेदनको मुख्य अवधारणाका रूपमा ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ अघि सारिएको छ। शिक्षा, स्वास्थ्य, पोषण, सीप, रोजगारी, सामाजिक सुरक्षा, सुशासन, प्रविधि, जलवायु तथा राष्ट्रिय स्वाधीनतालाई समुन्नतिको अवधारणासँग जोडिएको छ।

पहिलो १०० दिनमै पार्टीको विगतको राजनीतिक तथा सांगठनिक समीक्षा गर्ने, सातै प्रदेशमा समीक्षा प्रक्रिया अघि बढाउने र ‘समुन्नति नीति–पत्र’ सार्वजनिक गर्ने प्रस्ताव छ।

संक्रमणकालीन न्याय र राष्ट्रिय स्वाधीनता

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्दै द्वन्द्वपीडितलाई सत्य, न्याय र परिपूरण सुनिश्चित गर्नुपर्ने प्रस्ताव गरिएको छ। राष्ट्रिय स्वाधीनतालाई ऊर्जा, खाद्य, वित्त, प्रविधि र ज्ञानमा राष्ट्रिय क्षमता अभिवृद्धिसँग जोडिएको छ।

समग्रमा, थापाको राजनीतिक प्रतिवेदनले नेतृत्व परिवर्तन वा संगठन सुधारमा मात्र सीमित नभई राजनीतिक संस्कार, अर्थतन्त्र, रोजगारी, निजी क्षेत्र, युवा, प्रविधि, सामाजिक सुरक्षा, संघीयता, सुशासन, जलवायु र राष्ट्रिय स्वाधीनतालाई कांग्रेसको आगामी कार्यदिशासँग जोडेको देखिन्छ।