सार्वजनिक बिदाको व्यवस्थाबीच पनि स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न अस्पतालहरूलाई विशेष व्यवस्था मिलाउन निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई दिन लगातार सार्वजनिक बिदाको व्यवस्थाबीच पनि स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न अस्पतालहरूलाई विशेष व्यवस्था मिलाउन निर्देशन दिएको छ।शुक्रबार जारी प्रेस विज्ञप्तिअनुसार नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबमोजिम अबदेखि शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा लागू गरिएको छ। तर उक्त व्यवस्थाका कारण स्वास्थ्य सेवामा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले मन्त्रालयले आवश्यक निर्देशन दिएको हो।
मन्त्रालयले अस्पतालहरूलाई आफ्नो कार्यभार र उपलब्ध जनशक्तिको आधारमा आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न सक्ने व्यवस्था मिलाउन भनेको छ। साथै, स्वास्थ्यकर्मीहरूलाई शनिबार बाहेक हप्तामा अर्को एक दिन बिदा दिने गरी दुई दिन बिदा सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ।यदि सो व्यवस्था सम्भव नभए सट्टा बिदा (compensatory leave) उपलब्ध गराउनुपर्ने पनि मन्त्रालयले जनाएको छ। यसका साथै, प्रादेशिक अस्पतालहरूमा समेत यही व्यवस्था लागू गर्न सातै प्रदेशका स्वास्थ्य मन्त्रालयहरूलाई अनुरोध गरिएको छ। मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा नागरिकलाई नियमित स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा कुनै बाधा नपर्ने गरी आवश्यक समन्वय गर्न सबै सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
