गुण्डागर्दी र सरकारी कार्यालयमा सक्रिय बिचौलियाको गतिविधि नियन्त्रण गर्न नेपाल प्रहरीले देशव्यापी विशेष ‘सर्च अपरेशन
काठमाडौँ — पछिल्लो समय टोल–टोलमा बढ्दै गएको गुण्डागर्दी र सरकारी कार्यालयमा सक्रिय बिचौलियाको गतिविधि नियन्त्रण गर्न नेपाल प्रहरीले देशव्यापी विशेष ‘सर्च अपरेशन’ सञ्चालन गरेको छ। चैत १८ देखि २१ गतेसम्म सञ्चालन गरिएको अभियानमा कुल २२६ जनालाई प’क्राउ गरी कानुनी दायरामा ल्याइएको प्रहरीले जनाएको छ।केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार प’क्राउ पर्नेहरूमा सार्वजनिक स्थानमा अभद्र व्यवहार गर्ने, सर्वसाधारणलाई हैरानी दिने बिचौलिया तथा गुण्डागर्दीमा संलग्न व्यक्तिहरू रहेका छन्।अभियानअन्तर्गत पहिलो दिन चैत १८ गते काठमाडौँ उपत्यकाबाट ५१ र कोशी प्रदेशबाट १८ जना नियन्त्रणमा लिइएको थियो। त्यसको भोलिपल्ट चैत १९ गते कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशबाट थप ४४ जनालाई प’क्राउ गरिएको प्रहरीले जनाएको छत्यसैगरी चैत २० गते मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाट २४ जनालाई नियन्त्रणमा लिइएको थियो भने चैत २१ गते काठमाडौँ उपत्यकामा गरिएको विशेष ‘स्वीप’ अपरेशनमा मात्रै ६२ जना प’क्राउ परेका छन्।
प्रहरीका अनुसार मालपोत, यातायात कार्यालयजस्ता सार्वजनिक सेवा प्रवाह हुने निकायमा सेवाग्राहीलाई दुःख दिने बिचौलिया तथा टोल–टोलमा सक्रिय तथाकथित ‘टोल डन’हरू अभियानको प्रमुख निशानामा छन्।सार्वजनिक सेवा लिन जाने नागरिकलाई हैरानी दिने र समाजमा अराजकता फैलाउने जोकोहीलाई पनि छुट दिइने छैन,’ प्रवक्ता काफ्लेले भने, ‘यो अभियान प्रारम्भ मात्र हो, आगामी दिनमा अझ कडाइका साथ अघि बढाइनेछ।’लामो समयदेखि सरकारी कार्यालयमा हुने अनौपचारिक ‘सेटिङ’ र स्थानीयस्तरमा बढ्दो असामाजिक गतिविधिप्रति नागरिकबाट गुनासो बढेपछि गृह प्रशासनको निर्देशनमा प्रहरी सक्रिय भएको हो। सार्वजनिक सुरक्षा सुदृढ गर्न सादा पोसाकमा समेत प्रहरी परिचालन गरी निगरानी बढाइएको छ।
