राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको ४८ घण्टे समयसीमा पछि इरानलकाे कडा प्रतिक्रिया
काठमाडौँ — होर्मुज जलमार्ग खोल्न र वार्तामा आउन अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको ४८ घण्टे समयसीमापछि इरानले कडा प्रतिक्रिया जनाएको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत इरानलाई यसअघि दिएको १० दिने समयसीमा समाप्तिनजिक पुगेको उल्लेख गर्दै अन्तिम ४८ घण्टा बाँकी रहेको चेतावनी दिएका थिए।
उनले तोकिएको समयभित्र मागअनुसार कदम नचालिए इरानले “गम्भीर परिणाम” भोग्नुपर्ने चेतावनी दिएका छन्।यसको जवाफमा इरानी सेनाको मुख्यालय खातम अल–अन्बियाका कमान्डर मेजर जनरल अली अब्दुल्लाहीले अमेरिका र उसका सहयोगी संरचनामाथि व्यापक आक्रमण गर्ने चेतावनी दिएका छन्। बीबीसी फारसीका अनुसार उनले अमेरिकाले आक्रमण गरे त्यससँग सम्बन्धित सैन्य तथा रणनीतिक पूर्वाधारलाई लक्षित गर्दै निरन्तर प्रतिकार गरिने बताएका छन्।अब्दुल्लाहीले युद्धको अवस्थालाई अझ तीव्र बनाउने संकेत गर्दै इरानले आफ्नो प्रतिवद्धता अनुसार प्रतिक्रिया दिँदै आएको दाबी गरेका छन्।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त हवाई आक्रमण गरेपछि सुरु भएको द्वन्द्व अहिले मध्यपूर्वभर फैलिएको छ। इरानले त्यसको जवाफस्वरूप इजरायलसहित खाडी क्षेत्रमा रहेका अमेरिकी अड्डाहरूलाई लक्षित गरी आक्रमण गर्दै आएको छ।जारी द्वन्द्वका कारण विभिन्न देशमा मृत्यु हुनेको संख्या ५ हजार नाघिसकेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेको विवरणअनुसार इरानमा मात्रै ३ हजार ५ सयभन्दा बढीको मृत्यु भएको छ, जसमा ठूलो सङ्ख्यामा सर्वसाधारण र बालबालिका परेका छन्।
लेबननमा एक हजारभन्दा बढी, इराकमा सयभन्दा बढी तथा इजरायलमा पनि नागरिक र सैनिकको ज्यान गएको पुष्टि भएको छ। यस्तै, अमेरिकी सेनाका १३ जना सैनिकको मृत्यु भएको र सयौँ घाइते भएको विवरण सार्वजनिक गरिएको छ।खाडी क्षेत्रका संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, बहराइन, ओमान र साउदी अरेबियामा समेत आक्रमणका कारण मानवीय क्षति भएको छ।यस अवस्थाले मध्यपूर्वको सुरक्षा स्थिति झनै जटिल बन्दै गएको छ भने विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय स्थायित्वमा समेत गम्भीर असर पर्ने चिन्ता बढेको छ।
