सरकारले थालेकाे भ्रष्टाचार, तस्करी र विचौलिया विरुद्धको कदमको प्रशंसा
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँले सरकारले पछिल्लो समय थालेको भ्रष्टाचार, तस्करी र विचौलिया विरुद्धको कदमको प्रशंसा गरेका छन्। शनिबार सार्वजनिक भिडियो सन्देशमार्फत उनले सरकारको सक्रियता स्वागतयोग्य भएको बताएका हुन्।
प्रसाईँले विगत चार वर्षदेखि आफूले उठाउँदै आएका विषयहरूमा अहिले कारबाही सुरु भएको उल्लेख गर्दै सरकारको कदमले आफूलाई ‘आफैँ प्रधानमन्त्री भएको जस्तो अनुभूति’ भएको प्रतिक्रिया दिएका छन्। उनले देशभर तस्कर र भ्रष्टाचारीविरुद्ध विभिन्न माध्यमबाट अभियान चलाएको पनि बताएका छन्।उनले केही सीमित समूहले बैंक, वित्तीय संस्था, सहकारी र रेमिटेन्स क्षेत्रसम्म कब्जा गरेको दाबी गर्दै त्यसले देशको अर्थतन्त्रमा नकारात्मक असर परेको बताएका छन्। यस्ता गतिविधिविरुद्ध कडा कारबाही आवश्यक रहेको उनको भनाइ छ।यसैबीच सरकारले हालै व्यवसायी दीपक भट्ट र शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ गरिसकेको छ। साथै अन्य केही ठूला व्यवसायीहरूमाथि पनि अनुसन्धान अघि बढ्ने संकेत गरिएको छ।
