क्युबाबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विवादास्पद अभिव्यक्ति
तेल नाकाबन्दीका कारण गहिरो ऊर्जा संकटमा फसेको क्युबाबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विवादास्पद अभिव्यक्ति दिएका छन्। अमेरिकाले क्युबामा तेल आपूर्ति रोक्दा देशभर विद्युत् प्रणाली ध्वस्त भई पूर्ण ब्ल्याकआउट भएको छ, जसले जनजीवन प्रभावित बनाएको छ। यसै सन्दर्भमा ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले क्युबामाथि आफूले “जे चाह्यो त्यही गर्न सक्ने” बताएका छन्। उनले क्युबा अहिले निकै कमजोर अवस्थामा रहेको उल्लेख गर्दै “क्युबालाई नियन्त्रणमा लिन पाउनु मेरो लागि सम्मान हुनेछ, म यसलाई मुक्त गर्न पनि सक्छु वा नियन्त्रणमा लिन पनि सक्छु” भन्ने अभिव्यक्ति दिएका छन्।यसैबीच अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिका र क्युबाबीच भइरहेको वार्तामा अमेरिकाले क्युबाका राष्ट्रपति मिगेल डियाज–कानेललाई पदबाट हटाउन दबाब दिएको खबर पनि सार्वजनिक भएको छ। अमेरिकाले यसअघि भेनेजुएलाबाट क्युबामा हुने तेल आपूर्ति रोक्दै कडा आर्थिक दबाब सिर्जना गरेको थियो, जसका कारण क्युबाको पुरानो विद्युत् प्रणाली पूर्ण रूपमा प्रभावित भएको हो। ऊर्जा संकटसँगै क्युबामा खाद्यान्न, औषधि र दैनिक आवश्यक वस्तुको अभाव बढ्दै गएको छ।तर क्युबाले भने आफ्नो आन्तरिक मामिलामा बाह्य हस्तक्षेप अस्वीकार्य हुने स्पष्ट पारेको छ। राष्ट्रपति डियाज–कानेलले अमेरिका सँगको कुनै पनि वार्ता समानता, सार्वभौमिकता र आपसी सम्मानको आधारमा हुनुपर्ने बताएका छन्। विश्लेषकहरूका अनुसार अमेरिकी दबाब, ऊर्जा संकट र ट्रम्पको आक्रामक अभिव्यक्तिले क्युबा–अमेरिका सम्बन्ध थप तनावपूर्ण बनाउँदै क्षेत्रीय राजनीतिमा नयाँ जटिलता थप्ने संकेत देखिएको छ।
