बाजेको सेकुवा व्यवसाय सञ्चालन गर्दै आएकी नितिमा भण्डारी यसपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित
झन्डै एक दशकदेखि ‘बाजेको सेकुवा’ व्यवसाय सञ्चालन गर्दै आएकी नितिमा भण्डारी (कार्की) यसपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सर्लाही–१ मा उम्मेदवारी दिएकी उनले नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठलाई ३६ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै ४४ हजार ९१९ मतसहित जित हासिल गरेकी हुन्।नितिमाले आफूले कहिल्यै राजनीतिमा प्रवेश गर्ने वा सांसद बन्ने कल्पना नगरेको बताएकी छन्। चुनावअघि मात्रै रास्वपामा प्रवेश गरेकी उनी प्रत्यक्षतर्फ टिकट पाएपछि निर्वाचनमा सहभागी भएकी थिइन्।राजनीतिक अनुभव सीमित भए पनि व्यवसायिक क्षेत्रमा उनले सेकुवा व्यवसायको फ्रेन्चाइज विस्तारदेखि मसला उद्योग सञ्चालनसम्मको अनुभव बटुलेकी छन्।यसअघि स्थानीय तह निर्वाचनमा मेयरको प्रस्ताव आए पनि पारिवारिक कारणले अस्वीकार गरेको उनले बताइन्।यसपटक विभिन्न समूहबाट चुनाव लड्न आग्रह आएपछि आफू सक्षम छु कि छैन भन्ने बुझ्न सर्लाही पुगेर स्थानीय अवस्था नजिकबाट अध्ययन गरेपछि मात्रै निर्णय लिएको उनको भनाइ छ।उनका अनुसार सर्लाही मात्र नभई मधेस क्षेत्र शिक्षा र स्वास्थ्य सेवामा पछाडि रहेको छ, जसमा सुधार ल्याउने प्राथमिकता उनले तय गरेकी छन्।
चुनावअघि सर्लाही भ्रमणका क्रममा दलित समुदायकी एक महिलासँगको भेटले आफूलाई थप प्रेरित गरेको उनले उल्लेख गरिन्। आर्थिक अभावका कारण उपचार नपाएका बालकको अवस्थाले स्वास्थ्य क्षेत्रमा काम गर्ने दृढता बढाएको उनले बताइन्।नितिमाले सर्लाहीमा सडक, सिँचाइ र कृषिजन्य उत्पादनको बजारीकरण प्रमुख चुनौतीका रूपमा देखेकी छन्। टमाटरजस्ता उत्पादन प्रशस्त भए पनि बजार अभावका कारण किसानले उचित मूल्य नपाउने समस्या समाधान गर्ने उनको योजना छ।यसका लागि बिचौलिया हटाउने, न्यूनतम मूल्य निर्धारण गर्ने र देशमै उत्पादन हुने वस्तुमा आयात नियन्त्रण गर्ने नीति अघि सार्ने उनले बताइन्।उनले भ्रष्टाचारलाई देशको प्रमुख समस्या भन्दै तीनै तहमा सुधार आवश्यक रहेको उल्लेख गरिन्। कर्मचारीतन्त्रलाई उत्तरदायी र सुशासनमुखी बनाउन तलब, स्वास्थ्य र शिक्षासम्बन्धी सुविधा सुनिश्चित गर्नुपर्ने उनको धारणा छ।जनप्रतिनिधिहरू चुनावको बेला मात्रै जनतामाझ पुग्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्दै उनले निरन्तर जनतासँग सम्पर्कमा रहने प्रतिबद्धता जनाएकी छन्।
