गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु

Spread the love

गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किँदै गरेको विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन गाउँपालिका–३ का अध्यक्ष दिपक पाण्डेका अनुसार गाडीमा कुल १५ जना भारतीय नागरिक सवार थिए। घाइतेमध्ये ७ जनाको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते १ जनालाई भरतपुर रिफर गरिएको छ। बाँकी घाइतेहरूको अवस्था सामान्य रहेको जनाइएको छ।दुर्घटना राति करिब ८ बजे भएको थियो र गाडी सडकबाट करिब १५०–२०० मिटर तल खसेको पाण्डेले बताए।प्रारम्भिक अनुमानअनुसार, ओरालो बाटोमा ईभी गाडी तातेर ब्रेक फेल भएपछि दुर्घटना भएको हुन सक्ने बताइएको छ। पाण्डेका अनुसार बाटो निकै ठाडो, अप्ठ्यारो र पानी परेको अवस्थामा थियो, जसले दुर्घटना निम्त्याउन सक्ने देखिएको छ।