एमालेको पछिल्लो चुनावी पराजयबाट गम्भीर पाठ सिक्दै पार्टीलाई सुधारको बाटोमा लैजान ओलीलाई आग्रह
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई वरिष्ठ अधिवक्ता एवं उनका पूर्व कानुनी सल्लाहकार बाबुराम दाहालले पार्टी पुनर्गठनका लागि ११ बुँदे सुझाव दिएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सुझावमा उनले एमालेको पछिल्लो चुनावी पराजयबाट गम्भीर पाठ सिक्दै पार्टीलाई सुधारको बाटोमा लैजान ओलीलाई आग्रह गरेका छन्दाहालले झापा–५ बाट ओलीको पराजय र समग्र एमालेले भोगेको हारले आफूलाई अत्यन्त दुःख लागेको उल्लेख गरेका छन्। ०३४ सालदेखि निरन्तर पार्टीमा आबद्ध रहेको उल्लेख गर्दै उनले २०७६ माघ २९ देखि २०७८ असार २८ सम्म ओली प्रधानमन्त्री हुँदा सल्लाहकार समूहमा अवैतनिक रूपमा काम गरेको स्मरण गरेका छन्। त्यसैले पार्टीप्रति जिम्मेवारी महसुस गर्दै सुझाव राखेको उनको भनाइ छउनले अहिले पार्टी कार्यकर्ताले पार्टी छोडेको नभई मत मात्र अन्यत्र गएको बताएका छन्। त्यसैले उचित सुधार गरे एमाले पुनः बलियो बन्न सक्ने उनको विश्वास छ। तर त्यसका लागि पार्टी नेतृत्वले तत्काल सुधारका कदम चाल्नुपर्ने उनले बताएका छन्।दाहालले अध्यक्ष ओली वरिपरि रहेका केही व्यक्तिले पार्टीलाई गलत दिशातर्फ धकेलेको आरोप लगाएका छन्। ओलीकी धर्मपत्नी राधिका शाक्यबाहेक वरिपरिका धेरै व्यक्ति वास्तविक रूपमा पार्टीप्रति इमानदार नभएको उनको टिप्पणी छ। उनले ओलीलाई वरिपरि रहेका ‘दुष्ट र असहिष्णु’ स्वभावका व्यक्तिहरूलाई जिम्मेवारीबाट हटाउन सुझाव दिएका छन्।उनले पार्टी पुनर्गठनका लागि विशेष महाधिवेशन बोलाउनुपर्ने पनि बताएका छन्। पार्टीका आधा केन्द्रीय पदाधिकारी र सदस्यलाई परिवर्तन गरी योग्य र स्वतन्त्र रूपमा बोल्न सक्ने व्यक्तिहरूलाई नेतृत्वमा ल्याउनुपर्ने उनको सुझाव छ।
दाहालले पार्टी कार्यालयहरूलाई कार्यकर्तामैत्री बनाउनुपर्ने र हाकिमशैलीको नेतृत्व अन्त्य गर्नुपर्ने बताएका छन्। साथै पार्टीभित्र गालीगलौज गर्ने प्रवृत्ति रोक्नुपर्ने र राति अबेरसम्म चाप्लुसी गर्न आउने व्यक्तिहरूबाट सावधान रहन ओलीलाई आग्रह गरेका छन्।
उनका अनुसार विभिन्न क्षेत्रको जिम्मेवारीमा रहेका कतिपय व्यक्तिहरूलाई कार्यकर्ताले स्वीकार नगरेको अवस्था रहेको छ। त्यसैले त्यस्ता व्यक्तिहरूलाई हटाएर पार्टी सदस्यहरूबीच समन्वय बढाउनुपर्ने उनले बताएका छन्।दाहालले पार्टीभित्र नेतृत्व चयन पनि लोकतान्त्रिक प्रक्रियाबाट हुनुपर्ने बताएका छन्। माथिबाट नेतृत्व थोपर्ने प्रवृत्तिले कार्यकर्ता र नेतृत्वबीच दूरी बढाएको उनको भनाइ छ।यसैगरी उनले केही नेताहरूले जनतालाई नै गाली गर्ने प्रवृत्ति अपनाएको भन्दै त्यसलाई तुरुन्त रोक्न ओलीलाई आग्रह गरेका छन्। उनका अनुसार एमालेका केही ‘झोले’ कार्यकर्ताले जनतालाई दोष दिन थालेका छन्, जुन पार्टीका लागि झन् घातक हुन सक्छ।सुझावको अन्त्यमा दाहालले ओलीलाई स्पष्ट सन्देश दिएका छन्। उनले लेखेका छन्— “प्रिय अध्यक्षज्यू, कि सच्चिनुस्, कि अझ बढी सक्किनुस्, पार्टीलाई पनि सक्काउनुस्।उनको यो अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा व्यापक चर्चा र बहसको विषय बनेको छ।
