इलामकाे निर्वाचन क्षेत्रमा पुराना दलका उम्मेदवार विजयी
इलाम–१ मा नेपाली कांग्रेसका उम्मेदवार ३५ वर्षीय निश्कल राई विजयी भएका छन्। लामो समयदेखि एमालेको गढ मानिने इलाम–१ मा २०४८ यता कांग्रेसले जितेको यो दोस्रो पटक हो। निश्कलले १३ हजार ६३२ मत ल्याएर दोस्रो बनेका श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ्ग लिम्बु र ११ हजार ९६६ मत पाएका एमालेका काजीमान कागतेलाई पछि पारे। निश्कल राई अर्थशास्त्रमा एमफिल अध्ययनरत हुन् र व्यवसायिक व्यवस्थापनमा स्नातकोत्तर अध्ययन गरिसकेका छन्। उनी शंकरदेव क्याम्पसमा नेविसंघमा सक्रिय थिए र पछि इलाम फर्केर कांग्रेसको राजनीतिमा सक्रिय बनेका थिए। निश्कलले निर्वाचनपछि भने, “राजनीति मेरो लागि पद होइन, जिम्मेवारी र पुस्तान्तरणको पुल हो। इलामको आवाजलाई राष्ट्रिय राजनीतिमा प्रभावकारी रूपमा स्थापित गर्नु नै मेरो मूल प्रतिबद्धता हो।”
इलाम–२ बाट नेकपा एमालेका उम्मेदवार ३६ वर्षीय सुहाङ नेम्बाङ विजयी भएका छन्। सुहाङले आफ्ना बुबा, पूर्व संविधानसभा अध्यक्ष सुवास नेम्बाङको राजनीतिक विरासत जोगाउँदै पुनः निर्वाचनमा जीत हासिल गरे। यस क्षेत्रका मतदाताले उनलाई २२ हजार ४ सय २६ मत दिएका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका भेषराज आचार्य १४ हजार ६ सय ५० मतमा रोकिए।
सुहाङको शैक्षिक यात्रा काठमाडौंको ग्यालेक्सी पब्लिक स्कुलबाट प्रारम्भ भएको थियो। उनले एलएलबी गर्दै वाणिज्य तथा संवैधानिक मामिलामा वकालत गरेको अनुभव पाएका छन्। उनले बुबाको निधनपछि पाएका उपनिर्वाचन टिकट मार्फत संसद प्रवेश गरेका थिए र हाल एमालेको केन्द्रीय सदस्य पनि बनेका छन्। यसरी, इलाम निर्वाचन क्षेत्रमा कांग्रेस र एमालेका उम्मेदवारहरूको विजयले पुरानो अनुभव र नयाँ नेतृत्वबीचको सन्तुलन देखाएको छ।
