न्यायिक छानबिन सद्भाव सहिष्णुता भाइचारा लागि अपिल-रेनुका पाैडेल सभापति मानव अधिकार तथा शान्ति समाज

Spread the love

पुर्णचन्द्र चापागाई

२०८३ साउन १० गते राती सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका वडा न . ३ कप्तानगन्जमा फरक समुदायबीच भएको विवादका सन्दर्भमा सुरक्षाकर्मीले गोली चलाउँदा १ जनाको मृत्यु भएको र झन्डै दुई दर्जन घाइते भएको घटनाले मानव अधिकार तथा शान्ति समाज स्तब्ध एवं मर्माहत भएको छ । सोही स्थानमा केही साता अगाडी उत्पन्न विवाद निरूपण हुन नसकेको पृष्ठभूमिमा सो घटना घटेको देखिन्छ । शान्ति समाजका सुनसरीस्थित सदस्यहरूबाट प्राप्त विवरण अनुसार मध्यरातमा स्थिति नियन्त्रणका लागि विभिन्न उपायहरू अवलम्बन गर्ने विकल्प छँदाछँदै आवेगमा आएर सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाएको देखिन्छ । राज्य, सरकारको प्रमुख दायित्व नागरिकको जीवन रक्षा गर्नु हो । नागरिक कै जीवन हरण हुने गरी भएको यो गोली काण्डको शान्ति समाज निन्दा गर्दछ र घटनाको स्वतन्त्र एवं निष्पक्ष छानबिनका लागि शीघ्र उच्च स्तरीय न्यायिक छानबिन आयोग गठन गर्न पुन आग्रह गर्दछ । यसैगरी दोषीलाई कारबाही, पीडितलाई न्याय र घाइतेहरूको उपचार लगायत राहतको व्यवस्था सुनिश्चित शान्ति समाजले समुदायबीच सुमधुर सम्बन्ध, सद्भाव प्रवद्र्धनका लागि सदैव व्यापक साझेदारी र सहकार्यमा जोड दिँदै आएको छ । देशमा कुनै पनि समूह, समुदायले अन्याय, असुरक्षा अनुभूत गर्नु नपरोस्, अहिंसा, शान्ति, सद्भाव र सहिष्णुता सदैव जीवन धारा बनोस् भन्नका खातिर सबै क्षेत्रबाट इमानदार पहल र योगदान अहिलेको आवश्यकता हो । तसर्थ बलको अत्यधिक प्रयोग वाट समस्या समाधान हुन्छ भन्ने आत्मघाती एवं रुखो व्यवहार त्यागेर संवाद, सहमति र सहकार्यको मार्ग अवलम्बन गर्न सरकार लाई शान्ति समाज आग्रह गर्दछ । यसैगरी घरमा आगो लागेको वेला त्यस्तो आगो निभाउन परिवारका सबै सदस्यको कर्तव्य भएकोले सद्भाव, सहिष्णुता र भाइचारा प्रवद्र्धनका लागि आ आफ्नो क्षेत्रबाट विशेष योगदान गर्न राजनीतिक समाज, नागरिक समाज, सञ्चार जगत् सबै नागरिकलाई शान्ति समाज आह्वान गर्दछ ।