नेतृत्वदायी भूमिकामा धैर्य संयम संवादको बाटो अपनाउन आग्रह – गगन थापा
सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजको साझा पुँजी भएकाले त्यसलाई जोगाउन सबै राजनीतिक दल, प्रशासन, सञ्चारमाध्यम र नागरिकले सामूहिक प्रयास गर्नुपर्ने बताए ।नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीलगायत देशका विभिन्न स्थानमा विकसित तनावपूर्ण अवस्थालाई लक्षित गर्दै सबै पक्षले आवेग र उत्तेजनामा नआई धैर्य, संयम र संवादको बाटो अपनाउन आग्रह गरेका छन्।

उनले नेपाली कांग्रेसले आफ्ना नेता, कार्यकर्ता तथा स्थानीय जनप्रतिनिधिसँग निरन्तर संवाद गर्दै संयमता अपनाउन आग्रह गरिरहेको जानकारी दिँदै यस्तै पहल अन्य दलले पनि गरिरहेको उल्लेख गरे। अब सबै दलका प्रयासलाई साझा अभियानका रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो।
थापाले बैठकमा सरकारको भूमिकामाथि पनि प्रश्न उठाएको बताए। उनका अनुसार संकटका बेला सरकार केवल सुरक्षात्मक कारबाही वा सामाजिक सञ्जालमा सीमित नभई नेतृत्वदायी भूमिकामा देखिनुपर्छ। प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाएर राष्ट्रपतिसँग, प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गर्दै साझा राष्ट्रिय प्रयासको नेतृत्व गर्नुपर्ने उनले बताए।
उनले सुनसरी घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिँदै कुनै एक निकायलाई मात्र दोष दिएर समस्या समाधान नहुने धारणा राखे। राज्य सञ्चालन गर्ने पक्षले पनि आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक वहन गर्नुपर्ने उनको भनाइ थियो।थापाले अहिले राजनीतिक आरोप–प्रत्यारोपभन्दा सामाजिक सद्भाव जोगाउने साझा दायित्व महत्वपूर्ण रहेको उल्लेख गर्दै नेपाली कांग्रेस अन्य राजनीतिक दलसँग सहकार्य गर्दै शान्ति, धार्मिक सहिष्णुता र सामाजिक एकता कायम राख्न प्रतिबद्ध रहेको बताए।
