ईरानले छिमेकी राष्ट्रमाथि आक्रमण नगर्ने अमेरिकालाई नछाेड्ने -अब्बास अराघची

Spread the love

इरानका विदेशमन्त्री अब्बास अराघचीले देशको सर्वोच्च नेता केही दिनमै चयन हुने बताएका छन् । अल जजिरासँगको अन्तर्वार्तामा उनले इरानका सबै राज्य संस्था व्यवस्थित रहेका र संविधानअनुसार प्रक्रिया अघि बढिरहेको बताए ।
उनले संक्रमणकालीन परिषद् गठन भइसकेको बताएका छन् । जसमा राष्ट्रपति, न्यायाधीश प्रमुख र गार्डियन काउन्सिलका एक जना न्यायविद् समावेश छन् । यो परिषद्ले नयाँ नेता चयन नभएसम्म देशको व्यवस्थापन सम्हाल्ने अराघचीले बताए ।
उनले अमेरिकामाथि कडा प्रतिक्रिया जनाउँदै भने, ‘इरान सधैँ कूटनीतिक संवादको लागि खुला छ, तर अमेरिका वार्ता भइरहेका बेला दोस्रोपटक आक्रमणमा लागेको छ ।’
सर्वोच्च नेताको हत्या घटनालाई लिएर उनले चेतावनी दिँदै भने, ‘यो अत्यन्त गम्भीर, अप्रत्याशित घटना र अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लंघन हो । यस घटनापछि स्थिति अझ जटिल र जोखिमपूर्ण बन्नेछ । इरानले आफ्नै सुरक्षामा कुनै सीमा राख्दैन ।’
उनले अमेरिकालाई जवाफ दिन आफूहरूले हमला गर्ने बताए पनि छिमेकी राष्ट्रमाथि आक्रमण नगर्ने बताए । ‘हामी खाडीका देश वा छिमेकीहरूलाई आक्रमण गरिरहेका छैनौँ । हाम्रो लक्ष्य केवल अमेरिका हो’, उनले भने ।