सरुवा बदरको माग गर्दै प्रशासनिक अदालतमा मुद्दा दायर

Spread the love

दिगन्तराज पन्त

मनलाग्दी सरुवा गर्ने मात्र होइन, आवश्यक ठाउँमा कर्मचारी खटाउन नसक्ने र आवश्यकता नै नभएको ठाउँमा थुपार्ने गरेको आम गुनासोबाट अछुतो रहन सकेको छैन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय । यसैका कारण बेलाबेलामा कर्मचारीहरू दिक्क भएर न्यायको लागि प्रशासनिक अदालतसम्म पुग्ने गरेका छन्।वैदेशिक रोजगार विभागबाट सरुवा भएका दुई उपसचिव उपेन्द्रराज पौड्याल र लवराज जोशीले सरुवा बदरको माग गर्दै प्रशासनिक अदालतमा मुद्दा दायर गरेका छन्। मन्त्रालयले पुस ११ गते उनीहरूलाई अन्य विभाग तथा समूहमा सरुवा गर्ने निर्णय गरेको थियो। पौड्याललाई गृह मन्त्रालय वा यस अन्तर्गत र जोशीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको थियो।विभागमा भने सामान्यको अतिरिक्त समूहबाट कृष्णकुमारी गौली तिवारी र राजेश्वरी खत्री सापकोटा पठाइएका थिए। उपसचिव द्वय पौड्याल र जोशीले एक वर्ष पनि नपुगी अन्यायपूर्ण सरुवा भएको भन्दै अदालतमा मुद्दा दायर गरेका हुन्। प्रशासनिक अदालतका अध्यक्ष डा. टेकबहादुर घिमिरे, नवलकिशोर यादव र आलोकचन्द्र श्रेष्ठको इजलासले दुवै पक्षसँग छलफलको लागि पेश गर्ने भनेका छन् ।