एक महिनाभित्र स्थानीय तहमै नापी र मालपोत सेवा सञ्चालन गर्ने तयारी गर्न मन्त्री रावलको निर्देशन
टिकाराम भन्डारि
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले एक महिनाभित्र नापी तथा मालपोतसम्बन्धी सेवा स्थानीय तहबाटै उपलब्ध गराउने गरी आवश्यक तयारी अघि बढाउन कर्मचारी प्रशासनलाई निर्देशन दिएकी छन् ।
जिल्ला प्रशासन कार्यालय धनुषामा आयोजित भूमि समस्या समाधान समितिको कार्यप्रगति समीक्षा तथा नापी र मालपोत सेवा स्थानीय तहमा हस्तान्तरण गर्ने तयारीसम्बन्धी छलफलमा मन्त्री रावलले सरकारको प्राथमिकताअनुसार कामलाई तीव्रता दिन निर्देशन दिएकी हुन् ।
मन्त्री रावलले नागरिकले सामान्य जग्गासम्बन्धी कामका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य गर्न स्थानीय तहमै सेवा प्रवाह गर्ने व्यवस्था मिलाउनुपर्ने बताइन् । यसका लागि आवश्यक जनशक्ति व्यवस्थापन, भौतिक पूर्वाधार, प्रविधि तथा प्रशासनिक तयारी समयमै पूरा गर्न उनले सम्बन्धित कर्मचारीलाई आग्रह गरिन् ।
उनले सरकारले एक महिनाभित्रै नापी र मालपोतसम्बन्धी सेवा स्थानीय तहबाट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिसकेको उल्लेख गर्दै उक्त लक्ष्य पूरा गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताइन् ।
त्यसैगरी दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको भूमि समस्या समाधानलाई सरकारले प्राथमिकतामा राखेको बताउँदै मन्त्री रावलले वास्तविक लाभग्राहीको पहिचान गरी निर्धारित समयभित्र जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गर्नेगरी काम गर्न भूमि समस्या समाधान समितिलाई निर्देशन दिइन् ।
भूमिसम्बन्धी समस्या समाधान गर्दा निष्पक्षता, पारदर्शिता र कानुनी प्रक्रियालाई पूर्ण रूपमा पालना गर्नुपर्नेमा जोड दिँदै उनले कुनै पनि बहानामा सेवाग्राहीलाई दुःख दिने वा काममा ढिलासुस्ती गर्ने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारिन् ।
सरकारको मुख्य प्राथमिकता सुशासन र पारदर्शिता रहेको उल्लेख गर्दै उनले सार्वजनिक सेवा प्रवाहलाई नागरिकमैत्री, सरल र सहज बनाउन कर्मचारी प्रशासन तथा स्थानीय तहका जनप्रतिनिधिबीच प्रभावकारी समन्वय हुनुपर्ने बताइन् ।
छलफलमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, नापी तथा भूमि प्रशासन कार्यालयका प्रमुख र भूमि समस्या समाधान समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
स्थानीय तहमै नापी र मालपोत सेवा सञ्चालनमा आएमा नागरिकले जग्गासम्बन्धी सामान्य कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता कम हुने र सार्वजनिक सेवा प्रवाह थप सहज हुने अपेक्षा गरिएको छ ।
