महानगरपालिकाभित्र नियुक्ति प्रक्रियाको पारदर्शितामाथि प्रश्न

Spread the love

सबिना प्रजा

वीरगंन्ज महानगरपालिकाले करिब ६ वर्षअघि करार सेवामा कम्प्युटर अधिकृत पदमा नियुक्त भएका सुजितकुमार श्रीवास्तवलाई पुस १ गतेदेखि लागू हुने गरी एकै पटक सातौँ तह अर्थात् अधिकृतस्तरमा नियुक्ति दिएको हो।पालिकामा रिक्त रहेको पदमा खुला प्रतिस्पर्धाबाट विज्ञापन गरी नियुक्ति गर्न सकिने व्यवस्था हुँदाहुँदै पनि प्रक्रिया नपुर्‍याई नियुक्ति गरिएको भन्दै महानगरपालिकाभित्रैबाट चर्को आलोचना सुरु भएको छ।तर महानगरपालिकाका सूचना अधिकारी सुनिल कुमार कर्णले भने करार सेवामै सातौँ तहको दरबन्दी खाली रहेको र सोही पदपूर्तिका लागि सूचना आव्हान गरी योग्यताको आधारमा एक वर्षका लागि नियुक्ति गरिएको बताए। उनका अनुसार आवेदन खुला गर्दा तीन जनाको नाम परेको थियो र तीमध्ये योग्यताको मूल्यांकनका आधारमा श्रीवास्तवलाई छनोट गरिएको हो।तर महानगरपालिकाकै केही कर्मचारीले भने यस नियुक्तिप्रति असन्तुष्टि जनाउँदै आएका छन्। नियुक्ति योग्यताको आधारमा नभई जनप्रतिनिधि तथा केही माथिल्लो तहका कर्मचारीसँग नजिकको सम्बन्धका कारण दिइएको एक कर्मचारीले प्रशासनलाई जानकारी गराएका छन्।यस घटनाले महानगरपालिकाभित्र नियुक्ति प्रक्रियाको पारदर्शितामाथि प्रश्न उठाएको छ भने स्थानीय तहमा हुने करार नियुक्ति र पदोन्नतिबारे पुनः बहस सुरु भएको छ।