सबैलाई आत्मसमर्पण होइनआत्मसम्मान चाहिन्छ ईश्वर पोखरेल
नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीभित्र सबै तहका नेता र कार्यकर्तासँग सम्मानजनक व्यवहार सुनिश्चित गर्न नसकिए त्यसका परिणाम दीर्घकालीन रूपमा हानिकारक हुन सक्ने चेतावनी दिएका छन्। ११औँ राष्ट्रिय महाधिवेशनपछि सार्वजनिक भइरहेका टिप्पणी र प्रतिक्रियातर्फ संकेत गर्दै उनले अनावश्यक भ्रम र अस्थिरता फैलिन नदिन आग्रह गरेका छन्।महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका पोखरेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महाधिवेशनबाट भएका संस्थागत निर्णयको सम्मान गर्नु सबैको दायित्व भएको स्पष्ट पारे। तर, निर्णय कार्यान्वयनको नाममा नेता–कार्यकर्ताबाट आत्मसमर्पणको अपेक्षा गर्नु गलत सोच हुने उनले उल्लेख गरेका छन्। “सबैलाई आत्मसमर्पण होइन, आत्मसम्मान चाहिन्छ,” उनले बताएका छन्।पोखरेलले पार्टीको विगत स्मरण गर्दै आन्तरिक विवादका कारण एमालेले भोग्नुपरेका नकारात्मक परिणाम फेरि दोहोरिन नदिन नेतृत्वले गम्भीरता देखाउनुपर्ने बताएका छन्। संस्थागत निर्णयविरुद्ध कुनै गतिविधि नगर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले व्यवहारमा काखा–पाखाको अवस्था देखिए असन्तुष्टि स्वाभाविक रूपमा बाहिर आउने धारणा राखेका छन्।
उनका अनुसार यसपटक नेतृत्व चयनमा सर्वसम्मति कायम हुन नसक्नुको एउटा कारण नेतृत्व तहबाट पर्याप्त पहल नहुनु पनि हो। यसले कतिपय प्रतिनिधिहरूमा योजनाबद्ध रूपमा केही व्यक्तिलाई बाहिर धकेल्न खोजिएको हो कि भन्ने शंका जन्माएको संकेत उनले गरेका छन्।महाधिवेशनका क्रममा समूहगत प्रतिस्पर्धा भए पनि पार्टी जीवनको लोकतान्त्रिकरणलगायतका नीतिगत विषय खुलेर उठाइएको पोखरेलको भनाइ छ। ती विषयहरू ‘अवधारणा पत्र’का रूपमा सार्वजनिक भइसकेको र बन्द सत्रमा औपचारिक रूपमा प्रस्तुत गरिएकाले लुकाउनुपर्ने केही नरहेको उनले बताएका छन्।पार्टी एकतालाई सुदृढ बनाउन सबै तहका नेता–कार्यकर्ताबाट जिम्मेवार आचरण आवश्यक रहेको पोखरेलको निष्कर्ष छ। विधि र प्रक्रियाबाट भएका निर्णयको निशर्त पालना, पार्टी विभाजनको दृढ विरोध तथा सम्पूर्ण कार्यकर्ताको स्वाभिमान र आत्मसम्मानको संरक्षण अहिलेको प्रमुख आवश्यकता भएको उनले बताएका छन्।११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएपछि पदाधिकारी र केन्द्रीय समितिमा ओली पक्षको वर्चस्व कायम छ। यस्तो पृष्ठभूमिमा पोखरेलको चेतावनीलाई पार्टीभित्र देखिएको असन्तुष्टि व्यवस्थापन र सम्भावित टकराव टार्न केन्द्रित आन्तरिक सन्देशका रूपमा हेरिएको छ।
