चीनको टोलीले गरेको डिजाइन पुल निर्माणका लागि स्वीकृति
चीनको टोलीले गरेको डिजाइन सडक विभाग पुल महाशाखाले स्वीकार गरेर निर्माणका लागि स्वीकृति दिएको छ । चीनको टोलीले स्थलगत अध्ययन गरेर तयार पारेको डिजाइन गत भदौमा महाशाखामा पेस गरेको थियो । पेस गरेको डिजाइन महाशाखाका विज्ञले अध्ययन गरेपछि स्वीकार गरेको हो । पुल महाशाखा प्रमुख ललिजन खनालले भन्नुभयो, “पेस गरेको डिजाइन हामीले अध्ययन भूबनोट अनुसारको डिजाइन उपयुक्त भएकाले निर्माणका लागि स्वीकृति दिएका छौँ । अब छिट्टै निर्माणको प्रक्रिया अगाडि बढ्छ ।” निर्माण सम्झौता भएपछि सुरुमा पेस गरेको डिजाइन नेपालीको भूमि अनुसार उपयुक्त नभएका कारण अस्वीकार गरेको उहाँले जानकारी दिनुभयो । निर्माण कम्पनीले चीनका विज्ञ प्रोफेसरको नेतृत्वमा डिजाइन गर्न लगाएको थियो । सो डिजाइनलाई अध्ययनपछि उपयुक्त ठहराएको प्रमुख खनालले भन्नुभयो । कार्यालयका अनुसार डिजाइन पास गरिएको छ । आगामी मङ्सिरबाट स्थलगत काम सुरु हुने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एक वर्षमा सकिने डिजाइनले दुई वर्ष नाघिसकेको छ, अब धेरै ढिला गर्न हुदैन त्यसैले ढिला नगरी काम गर्न निर्देशन दिएका छौँ ।”पुल महाशाखाका इन्जिनियर अमृत वर्माले लट्ठासहित १४ मिटरको हुने जानकारी दिनुभयो । पुटपाथसहित सवारीसाधन सञ्चालन हुने चौडाइ भने ११ मिटरको कायम हुने उहाँले बताउनुभयो । डिजाइनलाई पास गरेर निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेकाले केही दिनभित्रबाट काम थालिने जानकारी दिनुभयो । पुल निर्माणका लागि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिलान्यास गर्नुभएको थियो । डिजाइन एन्ड बिल्डका आधारमा बन्ने यो पुलको ठेक्का तुँदी कन्स्ट्रक्सन प्रालिले मूल्य अभिवृद्धि करसहित एक अर्ब ६८ करोड ७६ लाख २३ हजार ३५४ रुपियाँमा पाएको छ । चार वर्षभित्र निर्माण सक्ने गरी सो कम्पनीसँग विसं २०८० जेठ १९ गते सम्झौता भएको थियो । पहिलो वर्ष डिजाइनमा काम गर्ने र बाँकी अवधि तीन वर्षमा पुल निर्माणको काम सक्ने सम्झौतामा उल्लेख छ ।
