सवारी चालक अनुमतिपत्र ४२ मध्ये २१ कार्यालयबाट सुरु
२४ भदौको प्रदर्शनपछि ठप्प रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरणसहितको सेवा सोमबारबाट सुरु भएको छ । आगलागीबाट क्षति भएको झन्डै दुई महिनापछि सेवा सुरु भएको हो । उपत्यकाका तीन कार्यालयबाट भने शुक्रबारै आंशिक सेवा थालिएको थियो । सोमबार दिउँसोसम्म देशभरका ४२ मध्ये २१ कार्यालयबाट सेवा सुरु गरिएको यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाले जनाएअन्य ५ कार्यालय पनि सम्पर्कमा छन्, तिनबाट पनि सेवा सुरु गर्दै छौं,’ उनले भने, ‘तत्काल आंशिक सेवा सुरु गरेका छौं, बिस्तारै पूर्ण सेवा उपलब्ध गर्दै लैजान्छौं ।’ केही कार्यालयमा आगजनीबाट क्षति भएकाले सेवा सुरु हुन समय लाग्ने उनले बताए ।
पोखरा, इटहरी, लहान, बुटवल, धनगढी, दाङ र चितवनमा तत्काल सेवा हुने छैन । ‘यी कार्यालयमा आगजनीबाट ठूलै क्षति भएकाले सेवा सुरु गर्न समस्या भएको छ,’ खतिवडाले भने, ‘सेवा दिन तयार भएपछि हामीलाई प्रणालीमा सम्पर्क गराउन समस्या छैन ।’ यसका लागि विभागबाट ढिलाइ नहुने उनको भनाइ छ । कार्यालय तयार भएपछि सेवा सुरु हुन्छ । अहिले तत्काल नयाँ लाइसेन्सका लागि आवेदन खुला भने हुने छैन । अघिपछि सामान्य दिनमा सातै प्रदेशबाट ६ देखि ७ हजार सेवाग्राहीले नयाँ लाइसेन्सका लागि आवेदन दिन्थे । यसअनुसार ४ देखि ५ हजार नयाँ लाइसेन्सका लागि ट्रायल पास हुन्थे । यो सेवा देशभरकै ४२ यातायात व्यवस्था कार्यालयबाट उपलब्ध हुँदै आएको छ । ‘यो सेवा सुरु हुन अझै एक–दुई दिन लाग्छ,’ उनले भने, ‘बाँकी केही यातायात व्यवस्था कार्यालयले सेवा दिन थालेपछि मात्र नयाँ आवेदन खुला गरिनेछ, त्यसका लागि समय निर्धारण गर्नुपर्ने हुन्छ ।’ प्रदेशअनुसार समय तोकेर आवेदन दिन मिल्ने व्यवस्था गर्ने विभागको तयारी छ । प्रणाली जसोतसो गरेर चलाइएकाले पहिला जस्तो ‘स्पिड’ मा नचले मात्र समय तोकिने खतिवडाले बताए
