नयाँ दरबन्दी कार्यान्वयनमा आउने 

Spread the love

अर्थ मन्त्रालयकाे प्राप्त विवरण अनुसार एक सहसचिव र २३ जना उपसचिवको दरबन्दी कटौती गरिएको छ। तीमध्ये राजस्व समूहबाट ११ जना, प्रशासन समूहबाट ८ जना, र लेखा, कानुन, विविध तथा सरकारी वकिल समूहबाट जनही एक–एक जना उपसचिवको दरबन्दी घटाइएको हो।

त्यसैगरी, ३५ जना शाखा अधिकृत, ४७ जना नायव सुब्बा, १३१ जना हलुका सवारी चालक तथा ६५ जना कार्यालय सहयोगीका दरबन्दी पनि कटौती गरिएको छ। सम्भवतः अब बस्ने मन्त्रिपरिषदबाट निर्णय भएसँगै नयाँ दरबन्दी संरचना कार्यान्वयनमा आउने छ । 

गत जेठ महिनामा मात्रै अर्थ मन्त्रालयले एक सचिव र ३७ उपसचिवसहित विभिन्न पदमा गरी एक सय २० दरबन्दी थप गरेको थियो। तर अहिलेको कार्यालय खारेजी र दरबन्दी कटौतीपछि, पछिल्ला समय थप गरिएका दरबन्दीको तुलनामा कटौती संख्या केही कम भएको अधिकारीहरूले बताएका छन्। 

करदाता सेवा कार्यालयहरू खारेजीसँगै प्रत्येक कार्यालयमा कार्यरत चारदेखि पाँच जनासम्मका दरबन्दी कटौती हुँदा कुल १४८ देखि १८५ जनासम्म कर्मचारी संख्या त्यसै पनि घटेको छ । 

अर्थ मन्त्रालयसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालय र परराष्ट्र मन्त्रालयमा थप गरिएका दरबन्दी कटौती गर्नुपर्ने दबाब सरकारलाई परेको छ । संस्थाको आवश्यकता भन्दा कर्मचारी तथा पदाधिकारीको हितका लागि थप गरिएको दरबन्दीले वर्षेनी अरबौँ रुपैयाँ राज्यकोषलाई भार बढेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।