विपन्न दलित महिलालाई बनाइदिए नयाँ घर

Spread the love

मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेकी एकल दलित महिला मिठुमाया सुनारका लागि निर्माण गरिएको तीन कोठे घर आइतबार एक समारोहका बीच मुख्यमन्त्री बानियाँले हस्तान्तरण गरेका हुन्।

गत साउनमा मुख्यमन्त्री बनेपछि बानियाँले राज्यका सेवा सुविधा नलिने र सो रकमबाट विपन्न परिवारका लागि आवास निर्माण गर्ने घोषणा गरेका थिए। कुल ७ लाख रुपैयाँ अनुमानित लागतमा बनेको उक्त घर निर्माणमा बानियाँले व्यक्तिगत रूपमा ४ लाख ६५ हजार रुपैयाँ लगानी गरेका हुन्। पिल्लर हालेर ब्लकको पर्खाल र जस्ताको छानाले बनेको घरमा शौचालयसमेत निर्माण गरिएको छ।

घर निर्माणमा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले श्रमदान र नगद सहयोग गरेका थिए। घर निर्माण संयोजनकर्ता तथा काँग्रेस मनहरी गाउँपालिकाका सभापति प्रकाश वर्तौलाका अनुसार सो घर दलित, एकल र विपन्न महिलाको जीवनस्तर सुधार्ने उद्देश्यले निर्माण गरिएको हो।

घर हस्तान्तरण समारोहमा मुख्यमन्त्री बानियाँले मिठुमाया सुनारलाई आय–आर्जनका लागि २० हजार रुपैयाँ नगद सहयोगसमेत हस्तान्तरण गरे। गरिबीका कारण केही वर्षअघि पतिले आत्महत्या गरेपछि सुनारको परिवार बिचल्लीमा परेको थियो। उनी ६ जनाको परिवारसहित झुप्रो घरमा बस्दै आएकी थिइन्।

मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले घर निर्माणका लागि सिफारिस गरेका थिए।

मुख्यमन्त्री बानियाँले मकवानपुर क्षेत्र नम्बर २ ख० अन्तर्गत अन्य दुई विपन्न नागरिकका लागि पनि व्यक्तिगत खर्चमै घर निर्माण गराइरहेका छन्। राक्सिराङ गाउँपालिका–१ इन्द्रुङ्गका सुमनसिं चेपाङको घर निर्माण अन्तिम चरणमा पुगेको र कात्तिकभित्र हस्तान्तरण गरिने तयारी भएको छ। यस्तै कैलाश गाउँपालिका–४ धुस्राङका लालकुमार प्रजा चेपाङको घर पनि निर्माणाधीन अवस्थामा रहेको छ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले आफूले राजनीति मानवीय सेवाका लागि गरेको बताउँदै भने, “सरकारी र व्यक्तिगत तह दुवैतर्फबाट विपन्न र गरिब जनतालाई माथि उकास्ने दिशामा काम गर्ने मेरो संकल्प हो।”

उनले बागमती प्रदेशका एक हजार विपन्न परिवारका लागि घर निर्माण गर्ने लक्ष्य रहेको पनि जानकारी दिए। उनका अनुसार प्रति घर ५ लाख रुपैयाँ लागतमा घर निर्माण र प्रत्येक परिवारका लागि आयमूलक कार्यक्रमका लागि थप २ लाख ५० हजार रुपैयाँ विनियोजन गरिए एक हजार परिवारले आवास र रोजगारी दुबै पाउनेछन्।

घर हस्तान्तरण कार्यक्रममा बागमती प्रदेश सरकारकी सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेल, नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामा, मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, वडाध्यक्ष राजकुमार श्रेष्ठलगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।