जनताको सुरक्षा पहिलो प्राथमिकता भएको मुख्यमन्त्री बानियाँको भनाई

Spread the love

विपद् व्यवस्थापनका लागि बागमती प्रदेश ‘युनिफाइड कमान्ड गठन दशैंको मुख्य समयमा लगातार परेको अविरल वर्षाले बागमती प्रदेशका पहाडी जिल्लाहरूमा बाढी, पहिरो र अन्य प्राकृतिक विपद्को जोखिम बढाएको छ। यस परिस्थितिमा प्रदेश सरकारले उच्च सतर्कता अपनाउँदै ‘युनिफाइड कमान्ड टिम’ गठन गरेको छ ।मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको आकस्मिक बैठकमा प्रदेशका सबै सुरक्षा निकाय, मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीहरू सहभागी थिए । बैठकको मुख्य उद्देश्य विपद्को समयमा तत्काल उद्धार, राहत र समन्वयका लागि एकीकृत संयन्त्र तयार पार्नु रहेको थियो ।
बैठकले आन्तरिक मामिला तथा कानून मन्त्री शिवराम अधिकारीको संयोजकत्वमा भौतिक पूर्वाधार, आर्थिक मामिला, खानेपानी–सिँचाइ र वन तथा वातावरण मन्त्रीहरूलाई समावेश गर्दै द्रुत प्रतिकार्य टोली गठन गरेको छ । मुख्यमन्त्री बानियाँले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच समन्वय गरी ‘युनिफाइड कमान्ड टिम’ बनाएको जानकारी दिँदै कुनै पनि बेला विपद् परे तत्काल उद्धार र राहतका काम सुरु बताए । यस टोलीलाई विपद्को समयमा स्रोत–साधन परिचालन, उद्धार कार्यमा समन्वय र तत्काल निर्णय लिन जिम्मेवारी दिइएको उनको भनाई छ ।
मुख्यमन्त्री बानियाँले सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, काभ्रेपलाञ्चोक, धादिङ, ललितपुर, दोलखा र रामेछाप जिल्लामा विशेष सतर्कता अपनाउन निर्देशन दिएका छन् । ‘विपद् कुनै बेला आउँछ भनेर थाहा हुँदैन । त्यसैले अग्रिम तयारीका सबै संयन्त्र सक्रिय बनाइएका छन् । हामी सधैं नागरिकको सुरक्षामा खटिनेछौं, उनले भने ।
बैठकले जोखिममा रहेका विद्यालय, स्वास्थ्य चौकी र सरकारी भवन वरिपरिको जमिनमा माटो कटान नियन्त्रण गर्ने कार्य अघि बढाउने निर्णय पनि गरेको छ। विद्यालय क्षेत्रमा सम्भावित जोखिम न्यूनीकरणका लागि शिक्षक र विद्यार्थीमार्फत सचेतना अभियान चलाउने तयारी भइरहेको जानकारी दिइएको थियो ।
यस्तै प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘जिल्ला विपद् व्यवस्थापन समिति’ सक्रिय बनाउने निर्णय गरिएको छ भने समितिहरू अन्तर्गत सेना, प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस र स्थानीय स्वयंसेवक परिचालन गरिनेछ ।
बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री अधिकारीले विपद् व्यवस्थापन कोषबाट तत्काल रकम प्रयोग गर्न सकिने जानकारी दिए । साथै, जिल्लास्तरीय सुरक्षा संयन्त्रसँग प्रत्यक्ष समन्वय गरी जनजीवन र सम्पत्तिको क्षति हुन नदिन निर्देशन जारी गरिएको उनको भनाई थियो । यस्तै आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले आवश्यक परे थप स्रोत परिचालन गर्न तयार रहेको उल्लेख गर्दै राहत सामग्री खरिद र ढुवानीका लागि तत्काल बजेट विनियोजन गर्न सकिने बताए ।
यता भौतिक पूर्वाधार मन्त्री डा. देवकोटाले प्रदेश अन्तर्गतका प्रमुख राजमार्ग र ग्रामीण सडकमा पहिरो हटाउन हेभी इक्विपमेन्ट तयारी अवस्थामा राखिएको जानकारी दिए । उनका अनुसार बिशेष गरि हेटौँडा–काठमाडौँ, हेटौँडा–भीमफेदी–कुलेखानी र सिंक्ले–काभ्रे सडकखण्डलाई ध्यान दिइएको छ । मुख्यमन्त्री बानियाँले बैठकको अन्तिममा प्रदेश बासीलाई अपिल गर्दै उच्च सतकर्ता अपनाउन आग्रह गरेका छन् । ‘प्रदेश सरकार प्रदेशवासीको सुरक्षाको लागि चौबिसै घण्टा सक्रिय छ । विपद्को बेला हामी तपाईंहरूसँगै छौं । सुरक्षा र राहतका काममा कुनै सम्झौता हुँदैन । तपाईंहरू सतर्क रहनुहोस् र अत्यावश्यक कामबाहेक यात्रा नगर्नुहोस्, सबै नागरिकलाई अपिल गर्नु भएकाे छ ।