समाचार

श्यामकृष्ण खड्गीकाे चुनौतीआफ्नो उम्मेदवारी सभापति पदमा चर्चाका लागि नभई लामो तयारी

Spread the love

स्यामकष्ण खड्गीले सोमबार उम्मेदवारी घोषणा गर्दै मंगलबार सभापति पदमा मनोनयन दर्ता गराएका छन्। कांग्रेसको विशेष महाधिवेशनपछि सभापति बनेका गगन थापाले पनि सोही पदमा उम्मेदवारी दर्ता गराएका छन्।नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापालाई उनका पूर्वगुरु श्यामकृष्ण खड्गीले चुनौती दिएका छन्। करिब तीन दशकअघि काठमाडौंको सिद्धार्थ वनस्थलीमा गणित पढाउने खड्गीले अहिले आफ्नै पूर्वविद्यार्थी थापासँग एउटै पदमा प्रतिस्पर्धा गर्ने भएका हुन्।

खड्गीले आफूले लोकतान्त्रिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिएको बताएका छन्। कांग्रेसभित्रको गुटबन्दी, पुस्तान्तरण र आन्तरिक असमझदारीलाई अन्त्य गर्दै पार्टीलाई एकताबद्ध बनाउन आफू उम्मेदवार बनेको उनको दाबी छ।रोचक पक्ष के छ भने २०४८/०४९ सालतिर खड्गीले कक्षा १० का विद्यार्थी गगन थापालाई गणित पढाएका थिए। उनले थापा पढाइमा उत्कृष्ट र कक्षा मोनिटरसमेत रहेको स्मरण गरेका छन्।

आफू पराजित भए पनि गगनले जिते पार्टीलाई सफल बनाउन सहयोग गर्ने बताउँदै खड्गीले व्यक्तिगत तिक्तता नभएको र स्वस्थ राजनीतिक प्रतिस्पर्धा देखाउन चाहेको बताएका छन्।खड्गीको राजनीतिक यात्रा पनि लामो छ। २०४३ सालदेखि राजनीतिमा सक्रिय उनी विभिन्न महाधिवेशन तथा पार्टी संरचनामा जिम्मेवारी सम्हाल्दै आएका छन्। उनले आफ्नो उम्मेदवारी क्षणिक चर्चाका लागि नभई लामो तयारीपछि अघि सारेको बताएका छन्।