अदालतले ३६ हप्ताको जेल सजाय १८महिना सम्म निलम्बन तथा ९० दिन मदिरा सेवन नगर्न आदेश
एन्थोनी हल नाम गरेका व्यक्तिले अदालतमा आफूले श्रीमतीसँग चार बोतल वाइन पिएपछि व्यक्तिगत तथा आर्थिक समस्याबाट उम्किन स्कटल्यान्डतर्फ गाडी चलाएको स्वीकार गरेका छन्। उनले करिब दुई वर्षअघि दृष्टि लगभग पूर्ण रूपमा गुमाए पनि गाडी चलाउने निर्णय गरेको बताएका छन्।बेलायतमा एक दृष्टिविहीन व्यक्तिले अत्यधिक मदिरा सेवन गरेर बिना लाइसेन्स र बीमा करिब २५० किलोमिटर गाडी चलाएको घटना सार्वजनिक भएको छ। कार्लिसल नजिकै एम–६ राजमार्गमा प्रहरीले अनियन्त्रित रूपमा चलिरहेको कार रोकेपछि घटना बाहिर आएको हो।
हलका अनुसार आफूले धमिलो रूपमा बत्तीको प्रकाश मात्र देख्ने भएकाले अगाडि रहेको ठूलो ट्रकको पछाडिको बत्ती पछ्याउँदै गाडी चलाएका थिए। प्रहरीले भने उनलाई लेन परिवर्तन गर्दै सडकको किनारतिर अनियन्त्रित रूपमा गाडी चलाइरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अदालतले उनलाई ३६ हप्ताको जेल सजाय, १८ महिनासम्म निलम्बन तथा ९० दिन मदिरा सेवन नगर्न र पुनर्स्थापना कार्यक्रममा सहभागी हुन आदेश दिएको छ। दुर्घटना नभई यति लामो दूरी पार गर्नु निकै गम्भीर जोखिमपूर्ण घटना भएको जनाइएको छ।
