कांग्रेस वडा अधिवेशनमा प्यानलको प्रभाव ठेकेदारी प्रवृत्ति बारे प्रश्न?
अमर कैनि
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन सम्पन्न भइरहेका बेला विभिन्न वडामा प्यानल बनाएर नेतृत्व र क्षेत्रीय प्रतिनिधि चयन गर्ने प्रतिस्पर्धा देखिएको छ। पार्टीको तल्लो तहबाट नेतृत्व चयन हुने महत्वपूर्ण प्रक्रियामा प्यानलगत प्रतिस्पर्धा बढेपछि कांग्रेसभित्रै यसको प्रभाव र अभ्यासबारे बहस सुरु भएको छ।
वडा अधिवेशनले वडा कार्यसमिति चयनसँगै क्षेत्रीय प्रतिनिधि पनि निर्वाचित गर्ने भएकाले नेतृत्वमा पुग्न चाहने समूहहरूले आफ्ना समर्थकलाई संगठित गरेर प्यानल निर्माण गर्ने गरेका छन्। यसले निर्वाचनलाई प्रतिस्पर्धात्मक बनाए पनि व्यक्तिगत सम्बन्ध, समूहगत प्रभाव र आर्थिक पहुँचले भूमिका खेल्न थालेको गुनासो केही कार्यकर्ताबाट उठेको छ।
पार्टीको विधान र निर्वाचन प्रक्रियाले तोकेको विधिबाट उम्मेदवार तथा प्रतिनिधि चयन हुनुपर्ने भए पनि व्यवहारमा एउटै समूहले लामो समयदेखि संगठनमा प्रभाव जमाउने प्रवृत्तिलाई केही कार्यकर्ताले ‘ठेकेदारी शैली’सँग तुलना गरेका छन्। उनीहरूको भनाइमा पार्टीको नेतृत्व र प्रतिनिधित्व सीमित व्यक्तिको नियन्त्रणमा नरही नयाँ पुस्ता, महिला, युवा तथा विभिन्न समुदायको सहभागिता सुनिश्चित हुन आवश्यक छ।
कांग्रेसको आधिकारिक निर्वाचन कार्यतालिकाअनुसार १५औँ महाधिवेशनअन्तर्गत वडा तहबाटै वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुने व्यवस्था छ।
वडा अधिवेशनलाई केवल समूहगत शक्ति प्रदर्शनको माध्यम नभई पार्टीको संगठन सुदृढ गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने आवाज पनि उठेको छ। प्यानल बनाएर चुनाव लड्नु लोकतान्त्रिक प्रतिस्पर्धाको एउटा रूप भए पनि त्यसले व्यक्तिगत स्वार्थभन्दा माथि पार्टीको विचार, नीति र संगठन निर्माणलाई प्राथमिकता दिनुपर्ने कार्यकर्ताहरूको धारणा छ।
कांग्रेसभित्र जारी आन्तरिक विवादको पृष्ठभूमिमा वडा तहको अधिवेशन अझ संवेदनशील बनेको देखिन्छ। केही पक्षले जारी अधिवेशन प्रक्रियामाथि प्रश्न उठाएका छन् भने पार्टीको आधिकारिक पक्षले निर्धारित कार्यतालिकाअनुसार अधिवेशन अघि बढाएको जनाएको छ।
अब वडा तहबाट निर्वाचित हुने प्रतिनिधिहरूले आगामी तहका अधिवेशनमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले वडा अधिवेशनको निष्पक्षता, पारदर्शिता र व्यापक सहभागिता नै कांग्रेसको आगामी संगठनात्मक यात्राका महत्वपूर्ण विषय बन्ने देखि सबैकाे मन जित्नु पर्ने थियाे ।
उम्मेदवारीपछि छलफल नहुँदै रातारात क्षेत्रीय प्रतिनिधिको नामावली टाँसिएको भन्दै प्रश्न?
वडा तहमा क्षेत्रीय प्रतिनिधि चयनको प्रक्रियालाई लिएर केही वडामा प्रश्न उठ्न थालेका छन्। उम्मेदवारी दर्ता गरेपछि उम्मेदवारहरूबीच आवश्यक छलफल तथा सहमतिको वातावरण बनाउनुपर्नेमा त्यसो नगरी रातको समयमा क्षेत्रीय प्रतिनिधिको नामावली टाँसिएको भन्दै केही उम्मेदवार तथा कार्यकर्ताले असन्तुष्टि जनाएका छन्।
उनीहरूले निर्वाचन प्रक्रिया पारदर्शी र निष्पक्ष हुनुपर्ने भन्दै उम्मेदवारहरूबीच छलफल, दाबी–विरोध तथा आवश्यक प्रक्रिया पूरा गरेर मात्रै अन्तिम नामावली सार्वजनिक गर्नुपर्ने बताएका छन्।
यस्तै, कतिपय वडामा मतदान अधिकृतका रूपमा कानुन व्यवसायी वा निर्वाचन प्रक्रियासम्बन्धी अनुभव भएका व्यक्तिलाई जिम्मेवारी नदिइएको भन्ने गुनासोसमेत उठेको छ। यसले निर्वाचन प्रक्रिया कति निष्पक्ष र विश्वसनीय ढंगले सञ्चालन भयो भन्ने प्रश्न खडा गरेको उनीहरूको भनाइ छ।
