नारायणघाट–बुटवल सडकखण्ड विस्तार आयोजनाअन्तिम चरणमा भौतिक प्रगति ९१ प्रतिशत
सडक विभागका महानिर्देशक डा. विजय जैसीले नागढुंगा–नौबिसे तथा नारायणघाट–बुटवल सडकखण्डको स्थलगत अनुगमनपछि आयोजना अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन्। उनका अनुसार सडक विस्तारका अधिकांश मुख्य काम सम्पन्न भइसकेका छन् भने अहिले फिनिसिङ, ट्राफिक सेफ्टी, सर्भिस लेन तथा केही सहायक संरचनाको निर्माण कार्य भइरहेको छ।
महानिर्देशक जैसीले नारायणघाट–बुटवल सडक लामो समयदेखि समस्याग्रस्त बनेको स्मरण गर्दै अब निर्माणले निर्णायक चरण पार गरिसकेको बताए। उनले भने, “मुख्य कामहरू लगभग सकिएका छन्। अहिले फिनिसिङ, ट्राफिक सेफ्टी, सर्भिस लेन लगायतका केही काम मात्र बाँकी छन्।”
विशेषगरी वर्षायाममा दाउन्ने क्षेत्रमा हुने जाम र यातायात अवरोधलाई लिएर यात्रुहरू चिन्तित रहने गरेका थिए। तर यसपटक विगतका वर्षजस्तो समस्या नहुने दाबी विभागले गरेको छ। जैसीका अनुसार दाउन्ने क्षेत्रमा एकतर्फी दुई लेनको रिपेभमेन्ट कार्य सम्पन्न भइसकेको छ भने तेस्रो लेन निर्माण तीव्र गतिमा अघि बढिरहेको छ।
“विगतको वर्षजस्तो समस्या अब हुँदैन,” उनले भने, “जेठ १५ गतेसम्म मुख्य काम सक्ने लक्ष्य छ। अब नेपाली जनताले दाउन्नेको कहर धेरै सहनु नपर्ला।”
शनिबार पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले नागढुंगा–नौबिसे र नारायणघाट–बुटवल सडकखण्डको स्थलगत अनुगमन गरेको थियो। अनुगमनका क्रममा निर्माण व्यवसायीहरूले बिटुमिन अभावका कारण काममा केही चुनौती देखिएको बताएका थिए।
निर्माण व्यवसायीहरूले बिटुमिन आयातका लागि सरकारले सहजीकरण गरिदिन माग गरेका छन्। प्रतिनिधिमण्डलले नागढुंगा सुरुङमार्गको समेत स्थलगत निरीक्षण गरेको थियो।
नारायणघाट–बुटवल सडक आयोजना लामो समयदेखि ढिलाइ, धुलो, जाम र दुर्घटनाका कारण आलोचनामा पर्दै आएको थियो। अहिले निर्माण कार्य अन्तिम चरणमा पुगेपछि यात्रु र स्थानीयवासीले राहतको अपेक्षा गरेका छन्।
