कक्रोच जनता पार्टी नामबाट आइतबार टाउन हलमा शान्तिपूर्ण मानव साङ्लो बनाउने

Spread the love

भारतको बेंगलुरु नगर प्रहरीले आइतबार टाउन हल क्षेत्रमा भेला नहुन सर्वसाधारणलाई आग्रह गरेको छ। कक्रोच जनता पार्टीका नाममा टाउन हलमा कार्यक्रम गर्ने भन्दै सामाजिक सञ्जालमार्फत आह्वान भएपछि प्रहरीले यस्तो अपिल गरेको हो।

कक्रोच जनता पार्टी, कर्नाटकका नामबाट आइतबार टाउन हलमा ‘शान्तिपूर्ण मानव साङ्लो’ बनाउने भन्दै सूचना प्रसारित गरिएको थियो। त्यसपछि नगर प्रहरीले उक्त स्थानमा कुनै पनि प्रकारको भेला वा कार्यक्रमका लागि आधिकारिक अनुमति नलिइएको जनाएको छ।प्रहरीका अनुसार टाउन हलमा कार्यक्रम गर्न कसैले औपचारिक निवेदन दिएको छैन। ग्रेटर बेंगलुरु अथोरिटीसँग पनि सो कार्यक्रमका लागि अनुमति मागिएको अभिलेख नभएको प्रहरीले स्पष्ट पारेको छ।

प्रहरीले कर्नाटक उच्च अदालतको आदेशसमेत स्मरण गराएको छ। अदालतको आदेशअनुसार सहरमा कुनै पनि किसिमको प्रदर्शन वा सार्वजनिक कार्यक्रमका लागि टाउन हल क्षेत्र प्रयोग गर्न पाइँदैन। सबै प्रकारका विरोधसभा र प्रदर्शनका लागि फ्रीडम पार्कलाई तोकिएको स्थान मानिएको छ।

प्रहरीले टाउन हलअघि जम्मा भएर प्रदर्शन गर्नु अदालतको निर्देशन उल्लंघन हुने चेतावनी दिएको छ। त्यसैले नागरिकलाई टाउन हल नजिक भेला नहुन र सामाजिक सञ्जालमा यस्ता सन्देश नफैलाउन आग्रह गरिएको छ।प्रहरीले फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, ट्वीटरलगायत सामाजिक सञ्जालमा यस्ता सूचना जानाजान वा अन्जानमा सेयर नगर्न पनि सर्वसाधारणलाई सुझाव दिएको छ।