पार्टी लाइनविरुद्ध जाने नेताहरूलाई कारबाही र कार्यविभाजन नदिने संकेत
बैठकमा अध्यक्ष ओलीले पार्टी लाइनविरुद्ध जाने नेताहरूलाई कारबाही र कार्यविभाजन नदिने संकेत गरेपछि उपाध्यक्ष गुरुङ आक्रोशित बनेका हुन्।स्रोतका अनुसार ओलीले “अराजक हुनेहरूलाई कारबाही हुन्छ” भन्ने शैलीमा कडा अभिव्यक्ति दिएपछि गुरुङले प्रतिवाद गर्दै प्रश्न गरे, “यो पार्टी तपाईंको प्राइभेट कम्पनी हो ? सहकर्मीहरूसँग मर्यादित भाषा बोल्न आउँदैन ?”
बैठकमा चार जना उपाध्यक्षहरूले अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अब यसरी पार्टी चल्न नसक्ने धारणा राखेको बताइएको छ।गुरुङले पार्टी सच्चिनुपर्ने बेला उल्टै धम्की दिने प्रवृत्ति बढेको भन्दै आपत्ति जनाएका थिए। विवाद चर्किएपछि एमाले सचिवालय बैठक नै स्थगित भएको स्रोतले जनाएको छ।
एमालेभित्र पछिल्लो समय नेतृत्व शैली र आन्तरिक असन्तुष्टिलाई लिएर तनाव बढ्दै गएको संकेत यो घटनाले दिएको राजनीतिक वृत्तमा चर्चा छ।
