झलकमान गन्धर्वको योगदानको सम्मान तथा गन्धर्व समुदायमाथि न्याय गर्न सरकारले आवश्यक कदम चाल्नुपर्ने
सबिना प्रजा
प्रतिनिधि सभा बैठकमा बोल्दै कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद उत्तम प्रसाद पाैडेल ले झलकमान गन्धर्व र गन्धर्व समुदायको सम्मानका लागि यस्तो पहल आवश्यक रहेको बताएका हुन्।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद उत्तम प्रसाद पौडेलले स्वर्गीय झलकमान गन्धर्वको तस्वीर नेपाली नोटमा राख्न वा उनको तस्वीर अंकित हुलाक टिकट जारी गर्न सरकारसँग माग गरेका छन्।उनले झलकमान गन्धर्वको योगदानलाई सम्मान गर्न नेपाली नोटमा तस्वीर राख्न वा सम्भव नभए हुलाक टिकटमा भए पनि उनको तस्वीर समावेश गर्न सरकारसँग आग्रह गरे नेपाल सरकारले सकेसम्म स्वर्गीय झलकमान गन्धर्व र गन्धर्व समुदायमाथि न्याय गरेर उनको फोटो नेपालको नोटमा राखिदिओस् अथवा छापिदिओस्, होइन भने नेपालको हुलाक टिकटमा भए पनि छापेर उनीमाथि सम्मान गरोस् र गन्धर्व समुदायमाथि न्याय गरोस्,’ सांसद पौडेलले भने।
झलकमान गन्धर्वको जन्म कास्कीको पोखरा उपमहानगरपालिका–१६, बाटुलेचौरमा १९९२ साल वैशाख १२ गते भएको थियो। उनको निधन ६८ वर्षको उमेरमा २०६० साल मंसिर ६ गते काठमाडौँमा भएको थियो।उनले गाएका ‘आमाले सोध्लिन् नि खै छोरा भन्लिन्, रण जित्दैछ भन्दिए…’ लगायत दर्जनौँ गीत लोकप्रिय छन्।सांसद पौडेलले झलकमान गन्धर्वलाई बिर्सन नहुनेमा जोड दिँदै गन्धर्व समुदायको भविष्य र सम्मानका विषयमा सरकारसँग प्रश्नसमेत गरेका छन्।
गन्धर्व समुदायको अस्तित्व र सम्मानप्रति चिन्ता व्यक्त गर्दै सांसद पौडेलले झलकमान गन्धर्वको योगदानलाई आगामी पुस्तासम्म सम्झनुपर्ने बताएका छन्।
उनले भने, ‘लाहुरेले सोध्लान् नि खै गन्धर्व जाति भन्लान्, लोप नै भए भनेर भोलि झलकमान गन्धर्वका नाती पुस्ताले सोधे भने हामीले के जवाफ दिने?’
पौडेलले झलकमान गन्धर्वको योगदानको सम्मान तथा गन्धर्व समुदायमाथि न्याय गर्न सरकारले आवश्यक कदम चाल्नुपर्ने बताएका छन्।
